खडेरीले भोजपुरमा बाली सुक्यो

भोजपुर । लामो समयसम्म खडेरीपछि फाटफुट मात्र वर्षात भएको भोजपुरमा बालीहरु सुकेर मर्न थालेको छ । जिल्लाको उत्तरी दक्षिणी र पुर्वी क्षेत्रका ३० वटा गाविसहरुमा आकाशे पानीको भरमा रोपिएको बालीहरु सुरकेर मर्न थालेपछि किसानहरु मर्कामा परेका छन् । पूजा गरेपछि पानी पारेको तर खेत रोप्न थालेदेखि फेरि पानी पर्न छोडेको किसानहरु बताउँछन् । जिल्लाको तुंगेछा, केउरेनीपानी, नेपालेडाँडा, रानीबास, होम्ताङ्ग, ठुलोदुम्मा, सानोदुम्मा लगायतका ४१ गाविसभरी नै खेती गर्नको लागि आकाशे पानीको भर पर्नुपर्छ ।

ढिलो गरी शुरु भएको वर्षात पर्याप्त नहुँदा यसको असर प्रत्यक्ष रुपमा खाद्यन्नसँग जोडिएको छ । बढ्दो जनसंख्या र खेतीमा आएका ह्रासको कारण भोजपुर जिल्लामा दिनदिनै खाद्यान्नको मागमा बृद्धि भइरहेको जिल्ला खाद्यसंस्थान भोजपुरका प्रमुख सहदेव पौडेलले बताएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका लागि मात्र ४० हजार क्विन्टल खाद्यान्नको आवश्यकता भएपनि सरकारले तीन हजार क्विन्टल मात्र दिने गरेको छ । जिल्लाको तल्लो भेगका गाविसहरुमा समेत खेती नभएपछि भोजपुर जिल्लामा खाद्यान्न संकट आउने संस्थानका प्रमुख पौडेलको अनुमान छ ।