प्रसुतीगृह निर्माणमा हङकङबासीको सहयोग

भोजपुर । मन र जाँगर भए सरकारी सेव सुविधा नहुँदा पनि ठूल्ठुला काम गर्न सकिन्छ भन्ने उदाहरण हो – भोजपुर सदरमुकाममा निर्माणाधीन सुविधासम्पन्न प्रसुतिगृह ।

हङकङमा रहेका भोजपुरेहरुले आफ्नो जन्मथलोप्रतिको कर्तव्य सम्झेर प्रसुतिगृह बनाउने काममा जिल्लावासीलाई उत्प्रेरणा जगाएका हुन् । ‘हाम्रा दिदीबहिनीले सुत्केरी गराउन बाहिर जानु नपरोस् भन्ने मुख्य उद्देश्यले प्रसुतिगृह बनाउन चासो देखाएका हौं,’ हङकङस्थित भोजपुरे सेवा समितिका सचिव झण्ड राईले बताए ।

प्रसुतिगृह बनाउन हङकङमा रहेका भोजपुरेले ३० लाख सहयोग गरेका छन् । समितिले प्रसुतिगृह निर्माण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई बैंक खातामा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरिसकेको छ । ५ कोठे प्रसुतिगृह भवनका लागि जिल्लामा सरकारी, गैरसरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख प्रशासकले १ लाख ७४ हजार सहयोग गरेको कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष बज्रमोहन काईइरालाले बताए । त्यसबाहेक कर्मचारी संघसंगठनले सबै राष्ट्र सेवक कर्मचारीहरुलाई कम्तिमा एक दिनको तलब प्रसुतिगृह निर्माणको लागि सहयोग गर्न अनुरोध गरे अनुरुप कर्मचारीहरुले समेत सहयोग गरेका छन् ।

नेपाल निजामति कर्मचारी संगठन भोजपुरका अध्यक्ष खड्क पौडेल कर्मचारीहरु सुविधाभोगी मात्र हुन्छन् भन्ने भ्रमलाई चिर्न पनि जिल्लाकै विकास र सृजनात्मक कार्यमा सहयोग गर्न आमकर्मचारीहरुलाई आव्हान गरिए अनुसार कर्मचारीबाट दुई लाख रकम संकलन भइसकेको छ । प्रसुतिगृहको कूल लागत ८० लाख रहेको छ । देश विदेशमा छरिएर रहेका भोजपुरेहरुबाट पनि आर्थिक सहयोग संकलन गरिएको समितिका संयोजक मेजर बलिमान राईले बताए ।

त्यसैगरी प्रसुतिगृह निर्माणका लागि काठमाडौंमा पनि अभियान जारी रहेको छ । भोजपुरका युवा नेता विनोद वान्तवाको अगुवाईमा काठमाडौंमा रहेका भोजपुरेहरु र शुभेच्छुकबाट एक लाग उठिसकेको छ । वान्तवाले रकम उठ्नेक्रम जारी रहेको बताउँदै उठेको रकम राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाको खाता नं. ३५८३७ मा जम्मा गरेको बताएका छन् । उनले यो रकम चाँडै हस्तान्तरण गरिने समेत बताए ।

प्रसुतिगृहको निर्माणकार्य ८५ प्रतिशत सकिसकेको र बाँकी निर्माण कार्य दुई महिनाभित्र सकिने लक्ष्य रहेको प्रसुतिगृह निर्माण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

स्थानीय स्तरमै सुरक्षित सुत्केरी गराउन प्रसुतिगृहको निर्माणसँगै आवश्यक उपकरण समेत जुटाउने पहल भइरहेको जिल्ला अस्पताका डाक्टर नरेन्द्र झा बताउँछन् । डा. झाका अनुसार ती उपकरणहरुका लागि सरकारी गैरसरकारी क्षेत्रबाट सहयोग हुने अपेक्षा राखिएको छ । निर्माण कार्य सकिनासाथ प्रसुति गृहलाई सञ्चालनमा ल्याइने प्रसुतिगृह निर्माण समितिले जनाएको छ ।

आवश्यक प्रविधि, उपकरण र दक्षा जनशक्तिको अभावमा असुरक्षित प्रसुतिका कारण भोजपुर लगायत पहाडी जिल्लाहरुमा वर्षेनी कैयौं महिजाले ज्यान गुमाउनु परिरहेको अवस्थामा भोजपुरवासीको यो कदम सह्रानीय र उदाहरणीय बन्नेछ ।