सडक खन्दा सामुदायिक वन स्वाहा

भोजपुर । गाउँ-गाउँमा खन्न थालिएको ग्रामीण सडकले सामुदायिक वनको ठूलो क्षेत्र फडानी भएको भन्दै त्यसलाई रोक्न सरोकारावालाहरुले अनुरोध गरेका छन् ।

गाँमा मोटर बाटो पुर्‍याउन विना सर्भे सडक निर्माण गर्नाले भूक्षयको खतरा बढेको भन्दै वनसँग सम्बन्धित सरोकारावालाहरुले त्यसलाई रोक्न र बैज्ञानिक ढंगबाट सर्भे गरी सडक खन्न अनुरोध गरेका छन् । भूक्षय तथा बाढी पहिरो जानबाट रोकी वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले बर्षौ अघिदेखि हुर्काइएको जंगल सडक खन्ने बहानामा क्षणभरै सखाप भएको उनीहरुको भनाई छ ।

गाउँ गाउँमा ग्रामीण सडक र कृषि सडक निर्माण गर्ने अभियानसँगै दर्जनौ सामुदायिक वनक्षेत्र फडानी भएको जिल्ला वन कार्यालय भोजपुरका अधिकृत सहनलाल अमात्य बताउँछन् । जिविस मार्फत खनिएको सडक पूर्वजिविसले राम्रो सर्भे नगरेको र कुन स्थानमा कति वन फडानी हुन्छ भनेर आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ । सडक निर्माण गर्दा सम्भव भएसम्म वन क्षेत्र कटाएर लान हामीले पटक-पटक आग्रह गरेपनि सडक खन्ने सम्बन्धित व्यक्तिहरुले विकास विरोधीको आरोप लगाएर आफूखुसी सडक खन्न थालेको अधिकृत अमात्य बताउँछन् ।

आर्थिक वर्ष सकिन लाग्दा धमाधम निर्माण कार्य थालिएको सडकले जिल्लाको दुई दर्जन बढी सामुदायिक वन क्षेत्र फडानी गरेको र त्यत्तिकै संख्यामा झाडी, नागी र चौर भत्काइएको सरोकारवालाहरुको भनाई छ ।

सडक निर्माण गर्दा वन क्षेत्र तर्काएर लाने वा विविध प्रजातिका बोटविरुवा संरक्षण गर्ने विषयमा कसैले ध्यान दिएको देखिंदैन । वन क्षेत्रको बीच भाग भएर सडक खनिएकोले ठूलो परिमाणमा वन जंगल मासिएको छ भने जंगलमा रहेको चराचुरुङ्गी र वन्यजन्तुले वासस्थान छोड्न थालेको छ ।

सडक खन्ने वहानामा जथाभावी जंगल फडानी भएपछि गम्भीर वातावरणीय समस्या सिर्जना भएको भोजपुर हेलौछा गाविसका दावा शेर्पा बताउँछन् । वषर्ात्को समयमा खन्न शुरु गरिएको भोजपुर-दिङ्ला कृषि सडकले हेलौछा गाविस भित्रका सामुदायिक वनभित्र पर्ने हजारौं रुख तथा बोटविरुवा फडानी गरेको छ भने त्यत्तिकै संख्यामा बोटविरुवा पुरिएको छ । ‘कहिले गाउँमा सडक ल्याइपुर्‍याउने भन्नेतर्फ मामत्र सोचाई गयो, सडक खन्दा कति वन क्षेत्र फडानी हुन्छ विषयमा त ध्यान नै पो गएन,’ हेलौछा गाविसका स्थानीयवासी दालक्पा शेर्पा भन्छन् ।

उपभोक्ता समितिले नियमविपरित डोजर प्रयोग गरेर सडक निर्माण गर्दा वन क्षेत्रमा झन् ठूलो क्षति भएको छ । जिविसले ग्रामीण र कृषि सडक निर्माण गर्दा मात्र होइन बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग -डिएफआईडी) को आर्थिक सहयोगमा निमार्ण कार्य शुरु गरिएको भोजपुर-हिलेभञ्ज्याङ-दिङ्ला र भोजपुर-मानेभञ्ज्याङ जोड्ने सडकले दर्जनौ सामुदयिक वन र राष्ट्रिय वन क्षेत्र फडानी भएको सरोकारावालाहरुले जनाएका छन् । सडक निर्माण गर्दा वन क्षेत्र तर्काएर लानुपर्नेमा उल्टै सडक खन्दा हुने वातावरणीय क्षतिको कुनै मूल्यांकन र अनुमान नै नगरिएकोले जिल्लाको हजारौं रोपनी वन क्षेत्र फडानी भएको वन कार्यालयको भनाई छ ।

-किरण राई