प्रवासी चेतनामा अस्तित्वको खोजीः सम्झनाको आलिङ्गनमा बाँधिएर (समालोचना)

– पूर्ण इन्फादा

प्रारम्भ :
नेपाली तन्नेरी रगत आफ्नो साम्राज्य बिस्तारका लागि होइन बेलायतको साम्राजय बिस्तारका लागि धेरै बगेको छ, यद्यपि बगिरहेको छ । नेपालीको इमानदारी, गरिबी र सोझोपनको फाइदा सदियौंदेखि धूर्त अंग्रेजहरुले उठाइरहेका छन् । हो, यही उपक्रममा दयाकृष्ण राई पनि विवशतावश सामेल हुन पुगे । थुप्रै युद्ध मोर्चामा पसिनाका धाराहर छुटाए । जस्तोसुकै युद्ध विभिषिकामा पनि उनको हृदयले कलम खोजिरह्यो । औंलाहरुले राइफलको ट्रीगर दबाउँदा समेत उनको मनमा कलमले नेपाली साहित्य लेख्ने चाहना उर्लिरहन्थ्यो । बन्दुकले दुश्मनलाई निशाना ताक्छ भने कलमको भाइचारा र सद्भावको शालीन उद्घोष गर्छ भन्ने दृष्टिकोण बोकेका दयाकृष्ण राइले अन्तत्वगत्वा प्रिय कलमलाई भाँच्न सकेनन् बरु बिग्रिन लागेको कमललाई जीर्णोद्वार गरेर सुन्दर साहित्य सिर्जनामा लगाईकन छाडे ।

बहुमुखी प्रतिभाका भोजपुरे स्रष्टा दयाकृष्ण राई नेपाली साहित्यमा कहिले ‘लाहुरेको कथा र जापानको व्यथा’ (२०६१) ‘ईश्वरको मलामी’ (२०६३) जस्ता कृति लिएर आउँछन् त कहिले ‘सम्झनाको आलिङ्गनमा बाँधिएर’ -२०६६) जस्तो यथार्थ जीवन भोगाइका अनुभूतिको उच्छवास नियात्रा लिएर आउँछन् । यति मात्रै कहाँ हो र ? उनका कथा र गीतका कउति अप्रकाशित रुपमा छरपष्ट भएर रहेका छन् । छिटपुट रुपमा समीक्षात्मक लेखहरु पनि लेख्नपछि पर्दैनन् । दर्जनभन्दा बढी संघ-संस्थामा काम गरेका दयाकृष्ण राईले आदिवासी एकता र खुकुरी बुलेटिनजस्ता पत्रिकाको कुशलतापूर्वक सम्पदानसमेत गरिसकेका छन् । विश्वको जहाँसुकै र जस्तोसुकै कङ्क्रिटको जङ्गल जस्तो आधुनिक सहरमा पुगेर पसिनाका धारा चुहाउनु परे पनि नेपाली जाति र नेपाली साहित्यलाई छोड्न सक्तैनन् दयाकृष्ण राई ।

नेपाली साहित्यमा राजनीतिमा जस्तै नयाँ क्रमहरुको सुरुवात भइरहेको छ र पुराना क्रमहरुको विरासत खरानी हुँदैछ । दयाकृष्ण राई नेपाली साहित्यमा नयाँ क्रम सिर्जना गर्नुपर्छ र पुराना विरासतलाई त्याग्नुपर्छ भन्ने मान्यता राख्ने स्रष्टा हुन् । अथवा भनौँ उनी नेपाली साहित्यमा प्रवासबाट क्रमभङ्ग गरिरहेका छन् । समयको आवाजलाई राम्री बुझेका दयाकृष्णका रचनाहर पनि समयोत्तेक हुन्छन् भन्दा अर्को अर्थ नलाग्ला । प्रवास अथवा डायस्पोराका विभिन्न साहित्यिक र सामाजिक संघ-संस्थाका सक्रिमताका साथ लागेका दयाकृष्ण राईले नयाँ आयामका कलम चलाइरहेका छन् ।

निबन्धः: नियात्रा परम्परा :
एउटा निबन्ध बन्नका लागि वस्तु, शैली र उद्देश्यजस्ता तत्वहरुको आवश्यकता पर्दछ । यदि ती तत्वहरुलाई ख्याल गरिएन भने निबन्ध बन्न सक्तैन । त्यसपछि निबन्धकारले वर्णनात्मक, विवरणात्मक, विचारात्मक कस्तो निबन्ध लेख्ने भनेर छनोट गर्दछ । यदि यस किसिमको भन्दा फरक निबन्ध शैलीका आधारमा लेख्न निबन्धकार बस्छ भने धर्काचित्र (शब्दचित्र) नियान्त्रा, रुपबन्ध र आत्मिक मध्ये कुनै एक शैलीलाई अपनायनु पर्ने हुन्छ । पूर्विय र पाश्चात्य निबन्ध सिद्धान्तमा आ-आफ्नै किसिमका परिभाक्षा र शैलीहरु भेटिन्छन् । विगतदेखि वर्तमानसम्म आइपुग्दा नेपाली निबन्ध साहित्यमा यी दुवै शैलीको मिश्रण भएको पाइन्छ ।

नेपाली निबन्धमा यात्रासंस्मरण (नियात्रा) जङ्गबहादुरको बेलायत यात्रादेखि औपचारिक रुपमा सुरु भएको ठानिँदै आएको छ । हुन त यसभन्दा पहिले पनि विवरणका रुपमा भने यात्रा निबन्ध छिटपुट रुपमा लेखिएका थिए । ताना शर्माको ‘बेलायततिर बरालिँदा’ निबन्धकृतिको भूमिका लेख्ने क्रममा बालकृष्ण पोखरेलले संस्मरण नलेखिकन नियात्रा लेखेदेखि संस्मरण वा यात्रा निबन्धलाई नियात्रा भन्ने परम्पराको थालनी भएको हो । नियात्राको मूल आधार यात्रा विवरण हुँदाहुँदै पनि निबन्धकारको जीवन दर्शन र हृदयको निर्वाध अभिव्यक्ति पनि झल्किन्छ । बाहिरी जगतको अवलोकन, जीवन भोगाइ, अनुभूति हृदयमा उत्पन्न हुने भावाव्यक्तिहरु यसमा झल्किन्छन् । नियात्रामा प्रायः स्मृतिका छालहरु उह्देलित भएका हुन्छन् । दयाकृष्ण राईका सम्झनाको आलिङ्गनमा बाँधिएर (२०६६) कृतिभित्रका नियात्राहरु पनि यही सैद्धान्तिक सेरोफेरो भित्र गुजुल्टिएका छन् ।

विषयवस्तु प्रवेश :
दयाकृष्ण राईको सम्झनाले आलिङ्गनमा बाँधिएर (२०६६) नियात्रा कृतिभित्रधका नियात्राहरुलाई केलाउँदा बेलायतदेखि नेपालसम्म, नेपालदेखि जापान र जापानदेखि पुनः नेपालसम्मको यात्रा परिवेश समेटिएको छ । यहाँ निबन्धकारका व्यक्ति भोगाइका अनुभूति, अनुभूतिजन्य दर्शन भापोत्तेक रुपमा प्रकट भएका छन् । यसका साथै यी निबन्धमा जीवन भोगाइको प्रत्यक्ष स्मृति बिम्बहरु प्रखर रुपमा देखिएका छन् । निबन्धकार दयाकृष्ण राईका निबन्धमा निजी जीवन दर्शनका भावत्मक संवेगहरु प्रकट भएका छन् । उनका निबन्धले राष्ट्रियताको नयाँ परिभाक्षा खोजेका छन् । उनका निबन्धले अस्तित्वको नयाँ खोजी गरेका छन् । यस कृति भित्रका निबन्धले कल्पनाभन्दा बढी यथार्थमा रमाउने प्रयास गरेका छन् । निबन्धमा बेलायत र नेपालको समेत परिवेश सलबलाएको भए पनि निबन्धकार जापान बस्ताका यथार्थ अनुभूतिहरु नै जोडदार रुपमा सलबलाएको भेटिन्छ । मौलिक जनजातीय भाक्षामा उखान-टुक्काको स्वादिलो प्रयोग र काव्यात्मक संघुलनले निबन्धहरु पाठकलाई आकर्षण गर्न सफल भएका छन् । विवरणात्मक शैलीमा लेखिएका दयाकृष्ण राई यस कृतिभित्रका आत्मपरक र वस्तुपरक गरी दुई किसिमका छन् । वस्तुपरक निबन्धहरु झण्डै एकतिहाइ जति छन् भने दुई तिहाइभन्दा बढी आत्मपरक अनुभूतिका उपज ठानिन्छन् । खपाङ्गीसँग साक्षात्कार, डा. ओम गुरुङसँग साक्षात्कार, डा. कृष्णबहादुर भट्टचनसँग साक्षात्कार, महासचिवको कार्यभार सम्हाल्दा, इतिहासविद् तथा कानुनवेत्ता एम.एस्. थापासँग साक्षात्कार तथा भूपू सैनिक संघका केही प्रतिवेदनहरु र वीरेन्द्रको वंशनाश हुँदाको श्रद्धाञ्जली जापानमा नातो पनि पाइँदोरहेछ जस्ता निबन्धहरु वस्तुपरक छन् । आत्मपरक शैली निबन्धहरुभन्दा वस्तुपरक निबन्ध जानकारीमूलक हुँदाहुँदै पनि केही कमजोरजस्ता देखिन्छन् । संस्मरणमा यथार्थको उद्घोष हुनुपर्छ भन्ने कुरामा निबन्धकार सैद्धान्तिक रुपमा सचेत देखिन्छन् । त्यसकारण पनि उनका आत्मप्रकरीकरण भएका निबन्ध्हरु बलिया छन् र पाठकको आकर्षणको केन्द्र बनको छन् । चित्रात्मक तरिकाले बुनिएका यस कृतिका निबन्धहरु विविधताका द्योतक पनि हुन् । अन्तर्वस्तु जोड दिइएका यस कृतिका निबन्धहरुलाई प्रवासी चेतना, अस्तित्वको खोजी, जापानी जीवन अनुभूति र यथार्थ इमानदारिता गरी चार खण्डमा छुट्याएर विश्लेषण गरेका खण्डमा बढी न्यायिक ठहरिएला भन्ने लाग्छ मलाई ।

प्रवासी चेतना :
वर्षेनी प्रवासमा धकेलिनु थुप्रै नेपालीको नियति बनेको छ । त्यहाँ गएर सबैले सुखको स्वप्न बगैंचामा घुम्ने मोह राखेका हुन्छन् । यथार्थमा त्यहाँ तेस्रो दर्जाको नागरिक भएर तुच्छ ठानिएका कामहरु गर्नुपर्दा प्रत्येक प्रवासी नेपालीले स्वदेश सम्झिन्छ । स्वदेशमै सुख-सञ्जालको सपना देख्नु अस्वभाविक होइन भन्ने कुरा दयाकृष्ण राईको सम्झनाको आलिङ्गनमा बाँधिएर निबन्धकृतिका निबन्धहरुले प्रष्ट्याएका छन् । प्रवास यानेकि डायस्पोरामा नेपाली जीवनकथा कसरी बाँचेको हुन्छ भन्ने कुरालाई निबन्धकार राईले सत्यतथ्य रुपमा प्रस्तुत गरेका छन् । कामको खोजी र आफूले गरेका काम, जापानी दलाल यमामोतो उर्फ सुइरेसँग झगडा, पुलिस आउँदा ग्रीन हाउसभित्र लुकेको रात आदि नियात्राले प्रवास नेपाली जीवन अनुभूति कस्तो हुन्छ भन्ने कुराको यथार्थ झल्को दिएका छन् । यति मात्रै होइन यी निबन्धमा निबन्धकार राईले सुँगुर र्फममा काम गर्दाको अनुभूति, दलालहरुले गर्ने दुव्र्यवहार, काम खोज्दाको हैरानी आदि तथ्यगत कुराहरुलाई नढाँटी प्रस्तुत गरेको कारणले निबन्धभित्र पसेपछि पाठकलाई बाहिर निस्किन हम्मेहम्मे पर्छ । निबन्धकार राईले यस कृतिका निबन्धमा नेपाली भाषी अनुहार देख्ने बित्तिकै खुसी व्यक्त गरेका छन् । नेपालबाट जापान पुगेका राजनीतिज्ञ र कामको सिलसिलामा पुगेका अन्य नेपाली तथा इतिहासकार, संस्कृतिविद् र विश्लेषकहरुलाई हार्दिक स्वागत गरेका निबन्धहरुसमेत पुस्तकमा समाहित गरेबाट के कुरा थाहा हुन्छ भने नेपालीको प्रवासी चेतनाले प्रवासमा पनि नेपाल र नेपालीलाई नै खोजिरहेको हुन्छ हरक्षण ।

अस्तित्वको खोजी :
दयाकृष्ण राईको ‘सम्झनाले आलिङ्गनमा बाँधिएर’ नियात्रा कृतिभित्र प्रवासी चेतनाको गुरुङ हुँदाहुँदै पनि निबन्धकारले यही चेतनाभित्र अस्तित्वको खोजी गरेका छन् । यस कृतिका निबन्धले वर्तमानमा क्रमभङ्गताको खोजी भइरहेको अवस्थाप्रति सहमति जनाएका छन् । लामो समयसम्म नेपालको इतिहासमा आफूलाई स्वद्योषित रुपमा ठूला भनाउँदा जुन किसिमको अन्याय, अत्याचार गरे र नेपालभित्रै आफूभन्दा इतरका वर्ग जाति र लिङ्गप्रति निर्मम व्यवहार गरे त्यसको निबन्धकारले चर्कोरुपमा हुँकार बोलेका छन् निबन्धमा । आज विश्वका विभिन्न मुलुकमा दिनैपिच्छे लर्को लागेर प्रवासी हुन जानेको संख्या किन बढ्दै छ र त्यसको कारण हो भन्ने कुरालाई पनि निबन्धकार राईले निबन्धमा स्पष्ट पारेका छन् । दयाकृष्ण राईका निबन्धभित्र दुई किसिमका अस्तित्वको खोजी पाइन्छ । एउटा आफ्नै देशभित्र सबै वर्ग, जाति र समुदायले समान किसिमको अस्तित्वको अनुभूति गर्न पाउनुपर्छ र पुरानो विकृत इतिहासलाई प्रतिस्थापना गरेर नयाँ इतिहास लेख्नुपर्छ अथवा अन्याय र अत्याचारबाट अभिप्रेरित इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने आवाज उठाएको पाइन्छ । सामन्तकृत इतिहास नामेट पारेर सीमान्तकृतहरुले राष्ट्रको गौरवपूर्ण इतिहास लेख्न पुर्‍याएको योगदानको मूल्याङ्कन हुनुपर्छ भन्ने मिहिन दृष्टिकोण पाइन्छ । यति राम्रो विचार राख्दाराख्दै पनि निबन्धकारले सबै ब्राहृमणलाई एउटै वर्गमा राख्नुचाहिँ न्यायसङ्गत देखिँदैन । अर्कोतिर निबन्धकारले प्रवासमा पनि नेपाली राष्ट्रियताको अस्तित्व खोजेका छन् । उनलाई जापानी साकुरा फूल फुल्ने मौसममा त्यसले आकर्षण नगरिकन नेपालकै पैयुँ र लालीगुराँस याद आउँछ र प्रवासमा यी कुराको याद खाउनु भनेको नेपाली जाति र राष्ट्रियताको अस्तित्व खोज्नु हो भन्ने मेरो बुझाई छ । यस्तै गरी प्रवासमा जुन किसिमको संघर्षपूर्ण जीवन बिताउनु परे पनि उत्तिकै श्रम र सीप पोखिसकेपछि त्यस देशका मान्छेले पाउने श्रम सुविधा र नेपालीले पाउने क्रम सुविधामा अन्तर हुनुहुँदैन भन्ने मिहिन आवाज भेटिन्छ निबन्धकार राईका निबन्धमा । निबन्धमा प्रवासमा हुँदै एकातिर पितृशोक पर्नु र अर्कोतिर सानी छोरीले कहिले आउने बाबा, भोलि नै आउनु है भन्दाको कारुणिक पक्षलाई उजागर गरेर स्वदेशमा नै आफ्नो अस्तित्व स्थापित हुनुको मुख्य कारक कुरालाई प्रष्ट्याएका छन् । जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो र राष्ट्रको स्वत्व खोज्नु लेखकको असल गुण हो भन्ने निष्कर्षमा पुगिन्छ । विश्वकप फुटबलको प्रसङ्गलाई ल्याएर निबन्धकारले राष्ट्रियताको अस्तित्व खोजेका छन् ।

जापानी जीवन अनुभूति :
निबन्धकारले यस कृतिको पहिलो निबन्ध ‘विषय प्रवेश अघि जापानको सङ्क्षिप्त परिचय’ शीर्षकको प्रबन्धात्मक जापानको भौगोलिक, सांस्कृतिक र जापानी राष्ट्रियताको कस्तो रुप छ भन्ने कुरा देखाएका छन् । यस अलावा जापानी जीवनशैंली रहनसहान र रीतिरिवाजलाई पनि निबन्धकारले अन्य शीर्षकका निबन्धमा कुनै न कुनै रुपले देखाएका छन् । जापानको नागासाकी र हिरोसिममा पड्किन बाँकी बमको सचित्र वर्णनबाट पनि लेखकले जापानी राष्ट्रियतालाई झल्काएका छन् । लैङ्गकि, जातीय, सांस्कृतिक सहअस्तित्व कै कारण जापान वर्गीयरुपमा विश्वमा अग्रस्थान रहन सफल भएको हो भन्ने निबन्धकारको धारणा छ । जापानीहरु मिहिनेती र स्वालम्बी हुन्छन् भन्ने कुरालाई निबन्धको धारणा छ । जापानीहरु मिहिनेती र स्वालम्बी हुन्छन् भन्ने कुरालाई निबन्धमा देखाइएको छ । जापानी जीवन अनुभूतिबाट नेपालीहरुले थुप्रै कुरा सिक्न सक्छन् भन्ने कुरा छ निबन्धमा । निबन्धकारले अप्रत्यक्ष मिहिन तरिकाले जापानी र नेपाली जीवन शैंलीको तुलना गरेका छन् भन्दा यतिशयोक्ति हुन्न भन्ने लाग्छ मलाई ।

यथार्थ इमान्दारिताः:
निबन्धकार दयाकृष्ण राई साहित्यमा स्वाङ पार्ने र बढी कल्पनामा रमाउने प्रवृत्तिका विरोधीका रुपमा देखिएका छन् । उनी जीवन भोगाइका यथार्थ अनुभूतिलाई साहित्यिक सिर्जनाको माध्यम बनाउँछन् । यही कारणले उनले जापनमा भोगेका जीवन अनुभूतिहरु एकरत्ति पनि छलछाम नगरी इमान्दार भएर यथर्थारुपमा सम्झनाको आलिङ्गनभित्र बाँधिएर निबन्धकृतिका निबन्धहरुमा अनुभूतिहरु पोखेका छन् । सुइरे बुढासँग झगडा होस् या भियग्रा लिएर वेश्यालय प्रवेश गर्दाको क्षण होस्, सुँगुरको लिदी सोहोर्दाको क्षण होस् या जातीयताका कुरा गर्ने गोरेबहादुर खपाङ्गीले दरबारमा गएर टीका थाप्ताको विकृत क्षण होस् इमान्दार भएर सबै कुरा यथार्थ रुपमा निबन्धका शब्द चित्रणमा कलम दौडाएका छन निबन्धकार दयाकृष्ण राईले । निबन्ध भनेको आफ्नो दृष्टिकोण र अनुभूतिलाई भाववेगका रुपमा यथार्थ शब्दचित्र उतार्नु निबन्धकारको धर्म हो । दयाकृष्ण राईले यो धर्म यी निबन्धहरुमा निर्वाह गरेका छन् । निबन्धकार दयाकृष्ण राईले जापानमा प्रवासी जीवन भोग्दाका अनुभूतिहरु इमानदार भएर यथार्थ रुपमा राखेको छन् । लेखकीय धर्मबाट निबन्धकार भाग्ने दुखद् क्षणको अन्त्य र अरु ढोङ्गी लेखकलाई एउटा गतिलो सबक पनि दिएका छन् ।

उपसंहार :
बन्दुक समाउने लाहुरे हातले कलम समाएर नेपाली नियात्रा साहित्यमा सुन्दर कृति दिएका बहुमुखी प्रतिभाका धनी दयाकृष्ण राईको यो कृति नेपाली साहित्य अनुपम आयामका रुपमा लिन सकिन्छ । बेलायतमा रहँदादेखि नै जापान जाने प्रयासमा जुटेका दयाकृष्ण राईले यस कृतिका निबन्धहरुमा आफ्नै देश नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा भोग्नुपरेका पीडादेखि जापान प्रवासका दुखद् र सुखद् अनुभूतिलाई शब्द चित्रण उतार्ने काम गरेका छन् । तेस्रो दर्जाको नागरिकको अनुभूति भोग्दाको अवस्थामा होस् या स्वदेशमा सहअस्तित्व पूर्ण इतिहासको खोजीमा होस् निबन्धकार सम्झनाले आलिङ्गनमा बाँधिएर’ नियात्रा कृतिका रचनाभित्र होस् उनले नेपाली जाति र राष्ट्रियताको अस्तित्वपूर्ण खोजी गर्न छाडेका छैनन् । जस्तोसुकै संघर्षपूर्ण जीवनयात्रा भए पनि मात्राबाट कहिल्यै थाक्नु हुन्न र परिश्रमको पसिना मात्रै पिउनुपर्छ भन्ने सन्देश लेखकले यस कृतिमार्फत दिएका छन् । असल नियतले काम गर्ने मान्छेले जस्तोसुकै कठिन अवस्थाको पनि सहजरुपमा सामना गर्न सक्छ भन्ने आवाज बुलन्द गरेका छन् लेखकले यस कृतिमा । आफ्नै शैलीको भाक्षाको प्रयोग मीठो र रोचक तरिकाले प्रयोग गरेका छन् । ठाउँठाउँमा कवितात्मक भाक्षाको समेत प्रयोग गरेका निबन्धकार राईको यो नेपाली साहित्यको गतिलो कृति हो । अपहेलित जीवनप्रतिको सुन्दर मोह र प्रेम पनि हो ।

infada1@yahoo.com
infada1@gmail.com

सन्दर्भसूची :
१. सम्पादक मण्डल, नेपाली साहित्यकोश, २०५५, ने.रा.प्र.प्र., कमलादी, काठमाडौं
२. टङ्कप्रसाद न्यौपाने, साहित्यको रुपरेखा, २०४९ (द्वि.सं.), साझा प्रकाशन, काठमाडौं
३. दयाकृष्ण राई, सम्झनाको आलिङ्गनमा बाँधिएर, २०६६ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत ।
४. जीवेन्द्रदेव सिंखडा (सम्पा.), अन्नपूर्ण पोष्ट (दैनिक), २०६६ असार १७, काठमाडौं