हाडेओखरजस्ता कविता

-शलु

कवितालाई ‘विश्लेषित मानवीय अनुभूतिको संलेषित र कलाको परिमार्जित संवेगात्मक चेतनाको अभिमत’का रुपमा परिभाषित गर्न रुचाउने कवि पूर्ण इन्फादा (२०२७)का कविताहरुमा मानवीय दुःख, पीडा, सन्त्रास, विद्रोह र विसंगति सघनरुपमा उभिएको पाइन्छ । चालीसको दशकको मध्यतिरबाट कविता लेख्न थालेका उनी झन्डै एक दशकअघि ‘मौन कम्पनहरु’ नामक प्रथम कविताकृति प्रकाशन गरेर पूर्णकालीन ढङ्गले कविताको विशाल समुद्रमा होमिएका हुन् ।

उनी स्रष्टा वैचारिक रुपले कुनै पनि वाद वा सिद्धान्तसाग आवद्ध हुन्छ भने उसको सिर्जना पनि त्यसैअनुरुप बाँधिनुपर्छ भन्ने कुरालाई स्वीकार गर्दैनन् । उनी माक्र्सवादी दर्शनलाई आत्मसात गर्ने व्यक्ति त हुन् तर उनका कविताहरुमा माक्र्सवादको रङ ज्यादै पातलो पाइन्छ । कतिले त उनको कवितामा माक्र्सवादको छनक विल्कुलै पाउँदैनन् पनि । तर गहन ढङ्गले केलाउँदै जाने हो भने उनको कवितामा शिलाजित भेट्न सकिन्छ । कवि एवं समालोचक पुरुषोत्तम सुवेदीको ठम्याइ छ ‘हाडे ओखर हुन् पूर्ण इन्फादाका कविताहरु’ । हुन पनि एउटा अनौठो किसिमको शक्ति छ उनमा कविता सोच्ने र कविता बनाउने ।

सुदूरपूर्व भोजपुरको एक दुर्गम पहाडी गाउँबाट जीवनयात्राको आरम्भ गरेका उनी अनेकौं कष्टकर घुम्ती र उकाली-ओरालीहरु गर्दै आज यो मोडसम्म आइपुगेका हुन् । उनका कविताहरुमा अरुण नदी, अक्करे भीर र सप्तकोशीका मृत्युदहहरुका अतृप्त आत्मा प्रवेश गरेर नाचिरहेका भेटिन्छन् । त्यसैले उनका कविताहरु कतै ज्यादै जटिल बन्न पुगेका छन् भने कतै केही सरलजस्ता पनि लाग्छन् । आखिर मानिसको जीवन भन्नु पनि यस्तै त हुन्छ नि होइन ? कहिले जटिल, कहिले कठिन । जे होस्, समकालीन पुस्ताका एक प्रभावशाली कवि हुन् पूर्ण इन्फादा । र, उनको यो दोस्रो कविताकृति ‘अभिलेख अवशेषहरु’ यस समयको एउटा उल्लेखनीय प्राप्ति हो ।