खोसियो भने त्यो डायरी

-शलु

यदि पुरानो प्रोफेसर शर्मा
आफ्नो डायरी खोस्न
सफल भयो भने
भोलिदेखि के गर्लान्
नयाँ प्रोफेसर शर्माहरू ?
साँच्ची ! के गर्लान् ती नयाँ प्रोफेसर शर्माहरु जो पुरानो प्रोफेसर शर्माको पुरातात्विक डायरी चोरेर आफ्नो पेशा धानिरहेका छन् । कवि विप्लव ढकालको यो गम्भीर प्रश्न हो- वर्तमानलाई ।

अत्यन्त जटिल तर पाठकका मनमस्तिष्कलाई झङ्कृत गराउने कविता लेखनद्वारा आफ्नो नितान्त पृथक किसिमको काव्यिक-छवि निर्माण गरेका विप्लव ढकालको ‘प्रोफेसर शर्माको डायरी’ कविताकृतिमार्फत् आफ्नो विगतको जटिल कवि छविलाई पछाडि धकेलिदिएका छन् । ‘बुझ्दै नबुझिने र अर्थ्याउ नै नसकिने कविता लेख्ने कवि’ को छवि बनाएका विप्लवले आफूप्रतिको पाठकहरुको दृष्टिकोणलाई बदल्न बाध्य बनाइदिएका छन्- योल कृति मार्फत् ।

‘प्रोफेसर शर्माको डायरी’ विप्लव ढकालको सातौ प्रकाशित कृति हो । लामो कविताको यो कृति एकै विषयवस्तुमा केन्दि्रत छ । बढो मार्मिक तर रोचक, कथात्मक र सुरचिपूर्ण शैलीको छ कविता । पढ्न थालेपछि यति गहिराइमा पुगिन्छ कि पुस्तक कति बेला समाप्त भयो पत्तै हुँदैन ।

कविताका केन्द्रीय पात्र हुन्- प्रोफेसर शर्मा । तीस वर्षअघिदेखि विश्वविद्यलायमा पढाउँदै आएको पुराना प्रोफेसर हुन् । यी पुराना प्रोफेसरको एउटा पुरातात्विक प्रकारको डायरी हुन्छ । उनले त्यही डायरीमा एक प्रकारले ज्ञानको सम्पूर्ण संसार अटाएका हुनछन्, लिपिबद्ध गरेका हुन्छन् । र, त्यही डायरीको मद्दतद्वारा नै उनले आफ्ना शिष्यहरुलाई ज्ञानको कुराउनी बाँढिरहेका हुन्छन् ।

तर एक दिन एकाएक हराउाछ प्रोफेसर शर्माको त्यो महत्वपूर्ण डायरी । आफ्नो डायरी हराएपछि प्रोफेसर शर्मा विक्षिप्त बन्छ, निरीह र अस्त्रविहीन योद्वाझै हुन्छ । अनि अनेक कल्पनीय घटनाक्रमहरु गुजि्रन्छ ऊ । आखिर कसले चोर्‍यो होला त प्रोफेसर शर्माको डायरी । धेरै पछि प्रोफेसर शर्माले आफ्नो हराएकी डायरी नयाँ प्रोफेसर शर्माहरुको झोलाभित्र भेट्छ । तिनले पुरानो प्रोफेसर शर्माको पुरातात्विक डायरीलाई पेनड्राइभमा, ल्यापटपमा र स्लाइडहरुमा लुकाएर राखेका हुन्छन् ।

नयाँ प्रोफेसर शर्माहरु आफूलाई उत्तरआधुनिक ठान्छन्, बढो सर्वज्ञानी मान्छन् । तर तिनको यो अहाको हतियार भने उही पुरानो प्रोफेसर शर्माको डायरी नै हुन्छ र आफै पनि प्रोफेसर कवि विप्लव ढकालको हावाको भरमा प्रोफेसर बनेका नयाँ पुस्ताका प्रोफेसहरुको हुर्मत लिएका छन् । उछितो काडेका छन् । धज्जी उडाएका छन् । समय जतिसुकै आधुनिकतातर्फ लम्किदै गएतापनि, नयाँ प्रविधिहरुलाई नयाँ प्रोफेसहरुले आत्मसात गरेता पनि ज्ञान भने पुरानै बाँडिरहेको यथार्थता प्रस्ट्याएका छन् । यो सबैले एकपटक पढ्नै पर्ने कृति बनेको छ ।