आफ्नो खसमको प्रतिक्षारत शान्ति माया

-दयाकृष्ण राई

प्रतिक्षाको घडीको काँटा माथी चढेर फनफन्ती परिक्रमा गरिरहेकी शान्ति माया लिम्बु कुनै दन्त्य कथाकी राजकुमारी हैनन् । सुर्यमुखी फुलझैँ चम्किलो अनुहार, बैंसको असंख्य चाहना र उन्मादहरु लिएर लाहुर गएको खसम आज सम्म पनि फर्किएनन् । शान्ती मायालाई त हिजो जस्तै लाग्छ शिरमा सुनको फुल हातमा बाला र पाउमा कल्ली, मखमली चोला र छित्को फरिया लिएर आउने आफ्नो खसमले बाचा बाँधेको ।

शान्ति मायाको श्रीमान् आफ्नो देशमा उ लाहुरे बन्यो पराई देशमा पुगेपछि उ गोरखा बन्यो । उसले कहिँ पनि नेपाली बनेर गर्व गरेर आफ्नो पहिचान दिने ठाउँ पाएन । अहिले सम्म बेखवर छ उ । दोस्रो बिश्व युद्ध पछि बाँचेकाहरु बिना क्षतिपुर्ति बिना पेन्सन खाली खुट्टा भएपनि ओल्लो घर पल्लो घर सबै साथी संगी घर फर्किए, बीरगति प्राप्त गर्नेहरुको धागोले बाँधेको पत्र आयो । शान्ति मायाको आलो सम्झनामा उसको खसमको सुर्यमुखी फुल जस्तै चम्किलो अनुहार अस्ताएको छैन । एक दिन हरियो गोबर र रातो माटोले लिपेको ढीकमाथी आफ्नो पोका पन्त्यौरा बिसाएर खुईया सुशेलेर बोलाउने छ ।

ए शान्ती माया !

तिम्रो हातको एक अम्खोरा चिसो पानी खाउँ खाउँ !

साले यतिका बर्ष सम्म घाम नअस्ताउने देशको साम्राज्यको लागी लड्दा लड्दा लखतरान थाकियो यार । अनि उसले भयानक युद्धको कहाली लाग्दो कथा भन्ने छ । उसको झोलाबाट दोस्रो बिश्व युद्धको फाटेको बुट निकालेर सुमसुमाउदै प्रश्न गर्नेछ कुनै बेला तँ पनि चार पाउ भएको जीवित प्राणीको आङ्गमा छाला भएर टाँसिएको थिईस तर मरेर पनि तैले सुख पाइनस् । अहिले मेरो दुई पाउमा मेरै अस्तित्व कुल्चिनु आइ पुगिस् । तँलाई थाहा छ ? यी दुई पाउहरु मेरा मात्रै हुन् तर अर्कै व्यत्तिको निर्देशनमा छम छम नाँचेर हिडछन् । थुइकक बुट किन आइस् म जस्तोको पाउमा ?

गोरखा हृयाट निकालेर धुलो टकटकाउने छ । अर्कैको साम्राज्य जितेर शिर ठाडो पारेर आफ्नो गोरखाली पहिचान दिनका लागि मेरो टाउकोमा ढल्किस् । तँलाई थाहा छ ? टाउकोमात्रै मेरो हो यस भित्र सबै गिदी त अरुकै भरिएको छ । थुईक्क गोरखा हृयाट किन आइस् मेरो बुद्धीमा बिर्को लगाउन ?

दोस्रो बिश्व युद्धमा शत्रुको शिरोच्छेदन् गरेर रगतको टाटा र खियाले खाएको खुकुरी दापबाट निकालेर चम्काउने छ । अनि उसले भन्ने छ हेर, बीर गोरखाको भयानक हतियार भएर मेरो कम्मरमा यति धेरै बर्ष सम्म झुण्डि रहिस् । एउटै आमाको गर्भमा जुम्ल्याहा जस्तै गहुँ गोरो, चिम्सा आँखा, नेप्टो नाक, भुसतिंग्रे, गोलो अनुहार भएको जापानीहरुलाई आयो गोरखा भन्दै छप्काउँदा च्वाट्ट घाँटी छिनाउने तैँ होइनस् । थुईक्क खुकुरी म जस्तो नुनको सोझोमा आफ्नै दाजु भाई मास्ने मेरो हातमा किन नाँचिस् ?

उसले अब शान्ति मायालाई भन्ने छ तिम्रो हातले बनाएको मिठो तोङवा तानौ न यार । साले आज त बि्रटिशले जसरि मेरो जवानीको रगत तानेझैं सुई सुईती तोङवा तानी दिनु पर्ला ।

यत्रो बर्ष तिमीबाट टाढा रहेर निर्लज्ज तिमीलाई श्रीमती भनीरहेको त छुईन शान्ती माया ?

आ… साम्राज्यबादी बेलायतले ४५००० गोरखाहरुको ज्यान आफ्नो साम्राज्य बिस्तारको लागि बलि चढाएको बिर्सिएर निर्लज्ज आफ्नो सिपाहि भन्न चाहँदैन, म जस्ता हराएकाहरुको त झन् लेखा जोखा नै छैन मलाई के को लाज । थुईक्क म ।

दोस्रो बिश्व युद्ध सकिएर पनि घर नफर्कि आफुलाई बिर्सिने खसमलाई शान्ति मायाले घुर्काउनेछ ।

तिमी को हौ म चिन्दीन ?

तिमी मरेको भए म बिधुवा हुन्थे लडाई सकिएर फर्किएर आएको भए म कति खुशी हुने थिए ।
तिमीलाई थाहा छ ?

चर्चिलको पालामा गएको तिमी फर्केर नआएपछि टोनी ब्लेरको पालामा गोरखा भूतपूर्ब सैनिक संघले ˆयाक्ट फाईन्डिङ्ग भन्ने दुई चारजना उतैका गोरा हुद्दा ल्याएर मलाई सोध खोज गर्दा मैले श्रीमानकै प्रतिक्षामा छु भन्दा उनीहरु बेसरि रोए । तिमी सन १९४४-४५ सालमा गएको मान्छे आज भोली भन्दै मैले कसरि बिताए यतिका बर्ष ? हिजो अस्तिसम्म सन्ताब्बे सालको सिमाना राखेर म र तिमी जस्ताहरुलाई बेलायत जान प्रतिबन्ध लगाईएको थियो । म र तिमी जस्ता कति हजार होलान् कसले भन्न सक्छ सहि तथ्याङ्क । तिमीले अहिले सम्म त्यहि देशको लागी लडेको तर त्यहि देशमा टेक्न बर्जित छ हामीलाई । तिमी आफै भन कसका लागि लड्यौ ? र के का लागि लड्यौं ? अहिले गोर्डन ब्राउनको निर्लज्ज सरकारलाई लोप्पा मारेर उनको अध्यागमन बिभागीय मन्त्री फिल वुलालाई मुखमा कुबिन्डो कोचारि दिने अभिनेत्री जोआना लुम्लेलाई साधुबाद भन्न भुल्ने छौ खबरदार !

आफुले टोकेको स्यान्डवीचमा गोरखाहरुको पसिना छ भन्ने बिर्सिएकी गृह मन्त्री ज्याकी स्मीथ दुई वटा घर र आफ्नो पोईसँग अंगालोमा बाँधिएर स्काई च्यानलमा छाडा फिल्म हेरेको भत्ता लिँदा किन अलिकति पनि सम्भिmएनन् त्यो पैसामा गोरखाहरुको रगत र पसिना पनि मिसिएको छ भनेर । के यो शान्ति मायालाई पोई सँग बस्ने रहर थिएन ? के शान्तिमाया ढुङ्गाको मुर्ति हो ? के शान्ति मायालाई आफ्नो पोई सँग ज्याकी स्मिथझैं एउटै ओछ्यानमा सुत्ने रहर थिएन होला ?

शान्ति मायालाई आफ्नो खसमले सम्झाउँदै भन्ने छ । हेर म फर्किएको भए आफ्नै देशमा भूपू लाहुरे बनेर अनागरिक हुने थिएँ । गाउँलेहरुले भेला भएर कुरा काट्ने थिए त्यसलाई नेपालको बारे केहि थाहा छैन बलीमा चढाएको बोकालाई के थाहा हुन्थ्यो, त्यो त मान्छेको भाँडोनै हैन बुढो लाहुरे हो बुढो लाहुरे भन्ने थिए मलाई । आफैले लडेर साम्राज्य बचाएको देशमा गोरखा भनेर सम्बोधन गरेर पाईला टेक्न निषेध गरेर शरणार्थीको रुपमा हेर्ने थिए । पृथ्बीनारायण शाहको गोरखा राज्यको गेारखा हो या कहाँको गोरखा हो । खैरे सालाले बिचको “र” लाई स्याण्डवीच निलेझैं आधा “र” निलेर गर्‍खा, गुखा अथवा गुहुखा आफ्नै खुसीले उच्चारण गरेर हामीलाई गुहु ख्वाई रह्यो । मलाई अहिले लागी रहेछ, अहिले सम्म बेखवर भएकै बेस भयो । २१औं शताब्दीमा पनि खैरेले गुहु ख्वाउन खोजी रहनु उ आफै मुर्ख हो आफैले गुहु खानु हो । गोरखा राज्यबाटै आधुनिक नेपालको निर्माण गरेका थिए पृथ्बीनारायण शाहले । हामी गोरखालीहरु पनि हाम्रो अधिकार प्राप्तिका लागि अब बेलायत तिरै लागौं ।

बेलायतमा पनि आ-आफ्नै डम्फु बजाएर एक आपसमा बिना मेल मिलाप अगाडी बढी रहेछन् यी भूपू संस्थाहरु, कति धेरै रहेछन् संस्थाहरु पनि गेसो, नेसो, बिजीडब्लुएस, युबिजिएन हाउ कति धेरै हाउ ? यीनीहरु त एक आपसमा मिलेर साम्राज्यबादीसँग अधिकारका लागि लड्ने त होइन एकले अर्कोलाई नाङ्गो बनाएर आफु टाई सुट लगाएर राम्रो बन्न खोजेका रहेछन् । एउटा मात्रै गोर्खा नाङ्गो भएमा सारा गोर्खालाई नै नाङ्गो सावित गर्ने छ साम्राज्यवादीले । जसरि हामी पहिलेका पुर्खाले पहिलो र दोस्रो युद्ध बीरताका साथ लड्यौं अहिलेका बाबुहरु पनि बीरका सन्तान बीर गोर्खाली बने त्यहिनै त हो उदाहरण । यी बाबुहरु बढी जानिफकार छन तर अझै बिचार कलिलो रहेछ । र नै उनीहरुमा अझै केटा केटी पना देखेको छु यीनीहरु आफु आफुनै ई-युद्धमा ब्यस्त छन । काम भनेको जिरो खाली ईमेलमा बाज्दा मात्रै रहेछन् । हामी त उहिलेको खुकुरी युद्ध लडेको मान्छे परियो, (भेटयो कि रेट्यो­) छिनाई पो हालिन्थ्यो हाउ । यो कुरा पनि बाबुहरुलाई सम्झाउने छु ।

शान्ति माया लौ हिँड तिमी पनि दोस्रो बिश्व युद्धमा चलाएर खिया परेको मेरो यो खुकुरीलाई अझै चम्किलो र धारिलो बनाउने छु । बेलायत पुगेपछि मलाई कसैले चिन्ने छैनन् तिम्रो मस्तिष्क भित्र पो म तिम्रो खसम भएर सधै ताजा भएर रहिरहे ईतिहासले पनि बिर्सन खोजेको धुमील मेरो प्रतिविम्ब न त जोआना लुम्लेले चिन्ने छ । न त अरु कसैले चिन्ने छ । म त्यहाँ पुगेर आयो गोरखाली भन्दै हातमा यहि खुकुरी घुमाउँदै दोस्रो बिश्व युद्धमा शत्रुलाई आक्रमण गरेजस्तै गोरखाहरुलाई भेदभाव गर्नेहरुको घाँटीलाई निशाना बनाउने छु । जसरि किराँतहरुको देवता किराँतेश्वरलाई किरातीहरुले त्यहाँ पुगेर जाँडको छोक्राले पर्छिदा उ जीवित भएर उठने मिथक सुनेका छौ त्यसरि नै दोस्रो विश्व युद्धमा प्रयोग गरेको यस खुकुरीको पारो भित्र जमेको शत्रुको रगत देख्न बित्तिकै बेलायतको बिशाल गोरखा सालिक जीवित भएर मलाई साथ दिने छ ।

त्यसपछि हामी दुवै टेन डाउनिङ्ग स्ट्रीट प्रधानमन्त्री कार्यलय प्रबेश गर्ने छौ हजारौ हाम्रा छोरा नाती भूपू गोरखाहरु हाम्रो पछि हुने छन् हामी प्रधानमन्त्रीको कठालोमा समात्ने छौं । र भन्नेछौं हामी यस देशको लागि मर्‍यौ अझैपनि ईराक र अफगानिस्तानमा मरिरहेछौं भोली पनि यस देशको लागि मर्न तयार छौं । जुन देशको लागि हामीले ज्यान बलिदान गर्‍यौं र गरिरहेकाछौं त्यहि देशमा हाम्रो पाईला टेक्ने अधिकारबाट बन्चित गरेको बारे उनलाई भन्ने छौं । त्यत्तिमात्रै होईन हामी पहिलो र दोस्रो बिश्व युद्धमा बीर गति प्राप्त र बेपत्ता भएकाहरुको तथ्याङ्ग माग्ने छौं क्षत्तिपुर्तिको माग गर्ने छौं । अबश्यपनि हामीले समान क्षत्तिपुर्ति र पेन्सन सुबिधा प्राप्त गर्ने छौं । हामीले २०० बर्षको गोरखाहरुको रगत र पसिनाको मुल्यको प्राप्त गरेरै छाड्नेछौं ।

शान्ति माया अब त तिमी खुशी छ्यौ ?
एक दिन यहि सम्वादका साथ आफ्नो खसम फर्केर आउला भनि जिन्दगीको उत्तरार्धमा फक्ताङलुङ्ग जस्तै अग्लो आशाका पहाडमा उकालो लागि रहेकी शान्तिमाया अचानक झस्किएर डङरङ्ग तल खस्छिन् सम्झनाको गहिराई भित्रबाट सतहमा अवतरण हुन्छिन् र दोस्रो युद्धोत्तर पश्चात अहिलेसम्म पनि आफ्नो खसम आउने प्रतिक्षामा तडपी तडपी नुनिलो आँसुका घुटकोहरु पिई रहेकी छिन शान्ति माया ।

दोस्रो विश्व युद्धमा बेलायती साम्राज्यको लागि लड्न गएको खसम आउने आशामा अझै सम्म प्रतिक्षा गरिरहेकी शान्ती माया लिम्बु । नेपाल भ्रमणको बेला जोना लुम्लीले पनि उनलाई भेटी खसमको बारे प्रश्न गर्दा अझै पनि जीवित रहेको आशा व्यक्त गरिन्, उनै शान्ती माया लिम्बु प्रति समर्पित ।