सरी मिस

– शशी लुमुम्बू

त्यस दिन सुरजले खै किन हो खाना पनि खाएन। बिहान ओछ्यानबाट बिउँझिदादेखि नै उदासी छाइरहेको थियो उसको अनुहारमा । उसले होमवर्क पनि सकेको थिएन । किताबहरू पनि असरल्ल अवस्थामा थिए। बिहान साबिकभन्दा निकै ढिलो उठेको थियो सुरज। त्यही पनि आमाका करकापले अल्छी मान्दै उठ्यो र मनलागी नलागी भ्यायो बिहानको नित्यकर्म । आमाले तयार पारिदिएको खाना पनि खान मानेन । एक गिलास दूध र पाउरोटीको दुई टुक्रा मात्र खाएर ऊ स्कुलका लागि तयार भयो । स्कुल जान पनि ढिला हुन लागेको थियो ।

चाबहिलका स्थायी बासिन्दा प्रमोद खड्काको एक्लो छोरो सुरज अलि चकचके स्वभावको केटो थियो । एक्लो सन्तान हुनुको कारणले पनि हुनसक्छ । तर ऊ प्रायः गरेर बाआमाले भनेका कुराहरूलाई पूर्ण रुपमा पालना गर्दथ्यो । बाआमाको कुरालाई गम्भीरतापूर्वक लिन्थ्यो ।

उसका बा-आमा शिक्षित मानिस थिए । र, सुरज पनि पढाइलेखाइमा खुब ध्यान दिन्थ्यो । दिमाग तेजिलो थियो उसको । सर र मिसहरूले कक्षामा पढाएका पाठहरू उसलाई कण्ठै हुन्थ्यो । घोकन्ते किसिमको पढाई थिएन उसको । एकपटक पढेपछि उसको दिमागले ती कुराहरूलाई सहजै टिपिहाल्थ्यो । अनुशासित र सुशील स्वभाव थियो उसको । स्कुलमा उसले बेला-बेलामा केही न केही उपद्रोचाहिँ गरेकै हुन्थ्यो । तर त्यसमा साथीहरूको उक्साहट जिम्मेवार हुन्थ्यो । आफ्नै मनज्ञानले भने उसले गल्ती गरेको प्रायः पाइन्नथियो ।

‘बद्मासी नगरी राम्रोसँग पढ्नू है । आज खाना पनि खाइनस् । त्यसै झोक्राइरहेको छस् । कि सञ्चो छैन हँ बाबु ?’ स्कुलको झोला आफैले बोकेर आमाले उसलाई स्कुलसम्म पुर्‍याउन गइन् । स्कुल घरबाट धेरै टाढा थिएन । करिब १० मिनेट पैदल बाटोमै पुगिन्थ्यो सुरजको स्कुल- पूर्वक्षितिज इङ्लिस बोर्डिङ स्कुल ।

स्कुलको गेटमा सुरजलाई छाडेर उसकी आमा घर फर्किइन् । किन-किन उनको मनमा त्यसै-त्यसै हलचलको हल्का आभास भइरहेको थियो । आज उसलाई स्कुल नपठाएको भए पनि हुन्थ्यो भन्ने भावनाले उनलाई खै किन-किन पछ्याइरहेको थियो । उनको मनमा कता-कता अज्ञात भयले धक्का दिइरहेको थियो ।

‘हत्तेरी ! आज मलाई के भइरहेको छ हँ ?’ उनले एकपटक आफैलाई प्रश्न गरिन् । र, मनलाई सम्हालेर घरधन्दामा लागिन् । उनका श्रीमान् बिहानै अफिस गइसकेका थिए । त्यसैले सुरजकी आमाले एक्लै बिहानको खाना खाइन् । एक्लै भएका कारणले पनि होला सायद उनलाई राम्ररी खाना रुचेन । छोराले खाना नखाइकन गएको कारणले पनि उनलाई नरुचेको हुनसक्छ । मन लागी नलागी खाना खाएर उनी धन्दापाततिर लागिन् । असारको महिना छिनछिनमा मौसम परिवर्तन भइरहेको थियो । घरी चरक्क प्रचण्ड घाम लाग्थ्यो भने घरी एकैछिनमा मौसम धुम्मिएर पानी बर्सिन्थ्यो । आज सुरजको स्कुल लाग्ने अन्तिम दिन थियो । भोलिदेखि समर भ्याकेसन । पूरै दुई महिना बिदा हुने । त्यत्रो दुई महिना सुरजले कसरी टाइमपास गर्ला । होमवर्क गरिसकेपछि खाली टिभीमा कार्टुन हेर्न मात्र ध्यान दिन्छ । बिगार्ने भो कार्टुनले छोरालाई । उनी मनमनै गुनगुनिदै घरधन्दामा लागिन् ।

‘ओहो ! छोराको स्कुल छुट्टी हुने बेला पो भयो। ढिला पनि भइसकेछ ।’ उनी हतार-हतार स्कुलतिर लागिन् । गेटमा पुगेपछि थाहा पाइन्- स्कुल त एक घण्टा अघि नै पो छुट्टी भइसकेछ । दुई-चार जना केटाकेटीहरू मात्र थिए- खेलिरहेका । उनले यताउता हेरिन् तर सुरज कतै पनि देखिएन । पालेलाई सोधिन् । पालेले हुलमुलमा आफूले वास्ता गर्न नसकेको जवाफ दियो । स्कुलका शिक्षक-शिक्षिका सबै घरतिर हिँडिसकेका थिए ।

आखिर कहाँ गयो होला त सुरज ? स्कुल परिसरमा कतै पनि फेला नपरेपछि सुरजकी आमा निरास भएर हतार-हतार घर फर्किइन् । कतै आफै पो घर गइसक्यो कि ? भन्ने उनलाई लाग्यो । र, उनी घर फर्किइन् । तर ऊ त घरमा पनि पो आइपुगेको रहेन छ । ८ वर्षको सुरज आफै स्कुल जान-आउन सक्ने मान्छे त हो । तर पनि उसलाई खुबै केयर गर्थे उसका बाआमा । स्कुल पुर्‍याउनु र ल्याउनु उनीहरू आफैंले गर्थे ।

सुरज घरमा आएन । स्कुलमा पनि भेटिएन । उसका साथीभाइ, चिनेजानेकाहरू सबैलाई फोन गरेर, उनीहरूको घरमै गएर सोधपुछ र खोजतलास गर्दा पनि पत्ता लागेन सुरज । आखिर ऊ गयो चाहिँ कहाँ ?

त्यसैबेला घर आइपुगे सुरजका बा पनि । आमाले सुरज फेला नपरेको कुरा सुनाएपछि बाआमा दुवै जनाले पुनः व्यापक रुपमा सुरजको खोजतलासी गरे । तर कहीँ पनि फेला पर्न सकेन ऊ । उसका बाआमा चिन्तित बने। रातभरि भोकै उसको बाटो हेरेर बसिरहे । तथापि ऊ फर्किएन । आखिर कहाँ हरायो सुरज ? एउटा अनन्त र त्रासपूर्ण प्रश्न अनुत्तरित भएर खडा भइरह्यो उनीहरूको सामु ।

बिहान भयो । रातभरि एक झप्को पनि ननिदाएका सुरजका बाआमा उज्यालो भएदेखि नै पुनः छोराको खोजीमा भौतारिए । तर केही पत्तो लागेन । अन्ततः निराश भएर घर फर्किनु सिवाय केही काम भएन उनीहरूको । कतै छोरो अपहरणमा पो पर्‍यो कि ? यो शंकाले पनि सतायो उनीहरूलाई ? कतै आफै स्कुलबाट फर्किदा दुर्घटनामा पो पर्‍यो कि ? त्यो पनि थिएन । अपहरणकारीले लगेकै भए फिरौतीका लागि टेलिफोन गथ्र्यो । तर फोन पनि आएन र आएन कतै दुर्घटनाको खबर पनि । आएन कतै दुर्घटनाको कुनै समाचार पनि । सुरजका बाआमा प्रहरीमा छोरा हराएको सूचना दिएर घर फर्किए । टेलिभिजनमा पनि सूचना दिए । तर छोरोको कुनै अत्तोपत्तो लागेन । आमा छोराको फोटो हेर्दै, उसका लुगाहरू हेर्दै रोएर दिन-रात बिताउन थालिन् । बुवाको हालत पनि दिनदिनै खराब भइसकेको थियो । यसरी नै सकियो दुई महिने समर भ्याकेसन पनि ।

स्कुल लाग्न थालेको पहिलो दिन सबेरै सुरजका बाआमा स्कुल पुगे । उनीहरूले प्रिन्सिपल सुनिलबाबु थापालाई भेटेर कम्प्लेन गरे- ‘स्कुल किन यस्तो गैरजिम्मेवार भएको ? हाम्रो बच्चा मिसिङ भएको यत्रो समय बितिसक्दा पनि किन खोजतलासका लागि प्रयत्न नगरिदिएको ?’

आफू स्कुल विदा हुनासाथ दार्जीलिङतिर जानु परेको कारणले पनि र स्कुल नै बन्द भएको हुनाले पनि त्यसो हुन पुगेकोमा क्षमा माग्दै उनले खोजीको थप प्रयासका लागि आफूले र स्कुलले सक्दो प्रयत्न गर्ने आश्वासन दिए । उता नेपाल प्रहरीले पनि सुरजको खोजतलासका लागि यथासक्य प्रयास गरिरहेको थियो । तर परिणाम हात लाग्न सकिरहेको थिएन । सुरजको खोजतलासको लागि सक्दो सहयोगको अपेक्षा गर्दै सुरजका बाआमा प्रिन्सिपलसँग विदा मागेर कोठाबाट बाहिर निस्किए । उनीहरूलाई विदा गर्नका लागि प्रिन्सिपल ढोकामा निस्केका मात्र के थिए । त्यसैबेला बाहिर उनले हल्लाखल्ला सुने । त्यहाँ विद्यार्थी र शिक्षकहरू स्कुलमा दुर्गन्ध फैलिएको भन्दै नाक छोपेर यताउती हेरिरहेका थिए । त्यसैबेला एउटा विद्यार्थीले भन्यो- ँबन्द ट्वाइलेटभित्रबाट केही कुहिएको गन्ध आइरहेको छ ।’

प्रिन्सिपल त्यतैतिर लम्किए । उनका साथमा सुरजका बाआमा पनि पछि-पछि लागे । उनले देखे ट्वाइलेट बन्द थियो । बाहिरबाट ताला लगाइएको थियो र भित्रबाट ह्वास्स सिनो कुहिएको चर्को दुर्गन्ध एकतमासले आइरहेको थियो । सो दुर्गन्धले श्वास फेर्न समेत कठिन बनाइरहेको थियो ।

‘यसको चाबी कोसाग छ ?’ पि्रन्सिपलले सोधे । तर त्यहाँ कोही पनि बोलेन । त्यसैबेला पालेलाई बोलाएर पि्रन्सिपलले बन्द ट्वाइलेटको ताला तोड्न लगाए । जब ढोकाको ताला तोडियो तब त्यहाँभित्र यस्तो भयाकन दृश्य देखियो कि- जसको परिकल्पनाले मात्रै पनि मानिसको आङ जिरि· बनाउँदथ्यो । ट्वाइलेटभित्र एउटा किशोर मानव कङ्काल थियो । सुरजका बाआमाले त्यो हेर्नासाथ थाहा पाए कि त्यो कङ्काल उनीहरूकै छोरो सुरजको थियो । ट्वाइलेटभित्र उसको कपडा र किताबको झोला छरपस्ट थियो । ट्वाइलेटको भित्तामा चकले लेखिएको थियो- ‘सरी मिस ! अबदेखि म कहिल्यै पनि बद्मासी गर्दिनँ ।’

त्यो दृश्य देख्नासाथ सुरजका बाआमा एकाएक मुर्छित बने । प्रिन्सिपल भक्कानिएर रोए । तिनीहरू सबैका आँखा रसाए जो त्यहाँ भेला भएका थिए । यस्तो घटना कसरी भयो ? पि्रन्सिपलको दिमाग एकाएक चक्करायो । उनले आकस्मिक स्टाफ मिटिङ डाके । यस्तो कसरी भयो ? यो कसले गर्‍यो ? उनले उपस्थित सबै शिक्षक-शिक्षिकाहरूलाई प्रश्न गरे । बैठक कक्षमा लामो मौनता छायो । कोही कसैका पनि बोली फुटेनन् । त्यसैबेला एउटी शिक्षिका बसेको ठाउँबाट जुरुक्क उठी र रुँदै कम्पित स्वरमा भनी- ‘सर ! मैले गर्दा त्यस्तो भएको हो। यसको अपराधी मै हुँ।’

‘ह्वाट ? के भन्दै हुनुहुन्छ तपाईं ?’ प्रिन्सिपलले सोधे । ‘हो सर ! सुरजको मृत्युमा म जिम्मेवार छु’ उसले लामो श्वास तानी र भनी- ँसमर भ्याकेसन हुने दिनको कुरा हो । सुरजले बद्मासी गर्‍यो । त्यसको रिसमा मैले उसलाई सचेत होस् भनेर सजाय स्वरुप एकछिन ट्वाइलेटमा थुनिदिएको थिएँ । तर उसलाई त्यहाँबाट निकाल्न मैले बिर्सिएछु । स्कुल छुट्टी भएपछि म घर गएँ । मलाई त्यो घटनाको विल्कुलै हेक्का भएन । तर आज…।’ सबैजना स्तब्ध भए । कोही कसैका पनि वाक्य फुटेनन् । उता बाहिर सुरजका बाआमालाई बीचमा पारेर विद्यार्थीहरूको हुल चर्को नाराबाजी गरिरहेको थियो …।