ऐठन

– शशी लुमुम्बू

भन्छन्- बुबाआमा भगवानसमान पूज्य छन् । तर उनलाई यस कुरामा कति पनि विश्वास लाग्दैन । आमा !आमालाई त म आदर गर्छु्, विश्वास गर्छु अनि असीम सम्मान पनि । तर बुवा ? उनको त मलाई अनुहारसमेत सम्झन मन लाग्दैन । आदर र सम्मानको कुरा त परै जाओस् । उनको धमिलो सम्झना आए पनि उनीप्रति मेरो मन र मस्तिष्कमा घृणाका लहरहरू उठ्न थाल्छन् । मलाई भाउन्न भएर आउँछ । लाग्छ, बेस्सरी थुकिदिऊँ उनको मुखमा । कोपरी दिऊँ क्रूरतापूर्वक उनको अनुहारमा । अरुका लागि बाउ भगवानसरह होलान् । तर मेरा लागि भने मेरा बाउ राक्षससरह छन् ।

म करिब त्यस्तै आठ-नौ बर्षकी थिएँ होला त्यतिबेला । बाउले मलाई आफ्नो शरीरमा तेल लगाएर मालिस गर्न लगाउँथे । खुट्टा मिच्न लगाउँथे । अबोध बालिका म, मलाई केही पनि थाहा हुँदैन थियो । म उनले अह्राएको काम खुरु-खुरु गर्थेँ । यस्तो काम बाउले मलाई घरमा आमा नभएको बेलामा मात्र लगाउँथे । थाहा थिएन, घरमा आमा भएको बेलामाचाहिँ उनले मलाई किन त्यस्तो काम गर्न लगाउँदैन थिए ?

बाउ कहिलेकाहीँ भन्थे- मेरो पेट साह्रै दुख्यो । अनि त्यसपछि उनी मलाई घुँडा खुम्चाएर घोप्टे पार्थे र मेरो हिपमा घण्टौंसम्म आफ्नो पेट अड्याउँथे । मलाई साह्रै गाह्रो हुन्थ्यो । तर बाउलाई पेट दुखेको सन्चो हुन्छ होला भनेर म त्यो सबै पीडा सहन बाध्य हुन्थे । लाग्थ्यो- यसो गर्नु मेरो काम नै हो । यस्तो घटना प्रायः दोहोरिरहन्थ्यो । तर मैले त्यो कुरा कहिल्यै पनि सुनाइन आमालाई । चुपचाप आफ्नै मनको भित्री भागमा राख्दै सहदै आएँ । जब म १२ वर्षकी थिएँ । आमाले भर्खरै बहिनी पाउनुभएको थियो । अप्रेसन गर्नुपरेकाले आमा अस्पतालमै रहनुभएको थियो भने बाउ, म र बहिनीचाहिँ घरमै थियौँ । हामी बाउसँगै एउटै ओछ्यानमा सुत्थ्यौँ । बाउ सधैँ आफू छेउमा सुतेर मलाई बीचमा सुताउँथे । बाउ सधैँ मेरो पेटमा हात राख्थे । पितृस्नेहले म लुटुक्क निदाउँथेँ ।

आमा अस्पतालबाट डिस्चार्ज भएर आउनुभयो । हामी एउटै बेडमा सुतेका थियौँ । म बीचमा, आमा कुनामा, बहिनी र बाउ छेउ-छेउमा । राति मलाई एकदमै गाह्रो भयो । सास फेर्नै नसक्नेजस्तो कठिन भयो । खै केले-केले अाठ्याएजस्तो ऐठन भयो । म बल्ल-बल्ल ब्यूँझिएँ । म ब्यूँझिँदा ममाथि मेरो बाउ थिए । मेरो छातीमा उनको हात थियो । म बोल्नै सकिनँ । बोल्न खोज्दा मेरो आवाज नै निस्किएन । स्वर दबियो । ऐठन भयो । बोल्न खोज्दा बोल्न नसकेपछि र चटपटाउनसमेत नसकेपछि मैले भित्तातिर मेरो छेउमै सुतिरहनुभएकी आमालाई चिमोटेँ । आमा उठ्नुभयो । आमाले बाउलाई भन्नुभयो- ‘के गर्नुभएको तपाईंले छोरीलाई ?’ बाउले चर्को स्वरमा जवाफ दिए- ‘मैले केही पनि गरेको छैन । उठ्न खोज्दा थिचियो होला, तँ जा चिया पकाएर ल्या । मलाई चिया पिउन मन लाग्यो ।’ आमाले भन्नभयो- ‘दूध पनि छैन, चियापत्ती पनि छैन । कसरी पकाउने चिया ?’ ‘अदुवा हालेर पका…’ बाउले भने । आमा उठेर चिया पकाउन जानुभयो । आमा भान्सा कोठामा गएको मौका छोपेर बाउले मलाई धम्क्याए- ‘केही पनि नसुना, आमालाई, नत्र तँलाई….।’

त्यो रात त्यत्तिकै बित्यो । मैले आफूमाथि भएको त्यो कहालीलाग्दो घटनालाई मनमनमै दबाएँ । तर मलाई सहिनसक्नुभयो । मैले आफूमाथि बाउले गरेको त्यो घृणित व्यवहारलाई चुपचाप सहेर बस्नै सकिनँ । सम्भिmयो कि आँखाबाट बरर आँसुका धाराहरू बग्न थालिहाल्थ्यो । भोलिपल्ट मैले बाउले गए राति गरेको व्यवहार सबै सुनाइदिएँ । मेरो कुरा सुनेर आमा धर्धरी रुनुभयो । म पनि रोएँ । बेलुका बाउ घरमा आएपछि आमाले सोध्नुभयो- ‘हिजो राति छोरीलाई के गरेको ?’ बाउ उल्टै चर्किए- ‘मैले के गरेँ ?’ जो चोर उसैको ठूलो स्वर भनेझैं व्यवहार देखाए बाउले । ‘आफ्नी छोरीलाई माया गर्न पनि नपाउने ?’ उनी आमासँग जङ्गिए र मलाई पनि ठूलठूला आँखाले हेरे । ‘त्यस्तो पाप पनि माया हुन्छ ? असत्ती पापी । तिमीजस्ता बाउ त मर्ने बेलामा शरीरभरि स्याउँस्याउँती किरा परेर मर्छौ ।’ आमाले रिसाउँदै गाली गर्नुभयो । बाउ-आमाबीच दोहोरो भनाभन भयो । बाझाबाझ भयो । हुँदाहुँदै झगडाले निकै उग्र रुप लियो । झगडा सुनेर हजुरबा, ठूलाबा, ठुलीआमा सबै भेला भए । तर बाउले आफूले गरेको गल्ती मरिगए स्वीकार गरेनन् । आमालाई बाउले निर्घात रुपमा पिटे । सुत्केरी आमालाई कुनै दया नराखी कुटे । आफन्तहरूले सम्झाउँदा पनि सम्झिएनन् बाउले ।

अति भएपछि आमाले प्रहरीमा खबर गर्नुभयो । घरमा प्रहरी आएर बाउलाई चौकीमा लिएर गयो । आमा र मलाई पनि बयानका लागि भनेर प्रहरी चौकीमा बोलाइयो । हामीले भएको कुरा प्रहरीसमक्ष सबै भनिदियौँ । बाउलाई प्रहरीले बेस्सरी कुट्यो । त्यसरी कुटेको देखेर मलाई डर लाग्यो । मति बिगि्रएको मान्छे नै भए पनि बाउको माया लागेर आयो । हामी घर फर्कियौँ । प्रहरीले ‘मिल्छौ भने मिल, होइन भने जेलमा कोचिदिन्छु’ भन्यो । प्रहरीको पिटाइले लखतरान भएका बाउलाई हेरेर दया पनि लाग्यो । अब त चेते होलान् भन्ने ठानेर हामीले प्रहरी चौकीबाट बाउलाई छुटाएर घरमा ल्यायौँ । तर त्यो नै हाम्रो लागि अभिशाप भयो । उनलाई बरु जेलमै बस्न दिनुपर्नेरहेछ । उनलाई छुटाएर हामीले झन् ठूलो गल्ती गरेछौँ । त्यसपछि त मेरा बाउ पशुजस्ता भए, पागलजस्ता भए । उनी झ्यालमा बसेर कराउँथे- ‘सुन ए मेरा दाजुभाइहरू, गाउँलेहरू हो, मैले मेरी छोरीलाई सुताएँ । के गर्छौँ तिमेरले ? सक्छौँ भने आफूले पनि सुताओ ।’

बाउ भनाउँदा ती पशुको मुखबाट यस्ता निकृष्ट र घृणित शब्दहरूको वर्षा बर्सिन्थेकी कि- मलाई सुन्दैमा पनि रिङ्गटा लाग्थ्यो । भाउन्न छुट्थ्यो । कानको जाली नै फुट्लाजस्तो हुन्थ्यो । मानसिक यातनाको त कुरै नगरौँ । बाउको मुखबाट कस्तासम्म घटिया शब्दहरू निस्किन्थे भने मलाई आफू बाउको शब्दैपिच्छे बलात्कार भएको महसुस हुन्थ्यो ।

मैले कोहीकसैसँग बोल्नै नहुने । बाउ शंका गरिहाल्थ्यो । दाजुभाइ, काका, मामा, ठूलाबा, हजुरबा, साथी, शिक्षक कोहीकसैसँग मैले कुरा गरेको, बोलेको देखे भने पनि बाउ बहुलाउँथे । भन्थे- ‘त्यो तेरो पोइ हो ? नत्र किन बोलिस् ?’

म आफन्तहरूको घरमासमेत जानुहुँदैन थियो । कहिलेकाहीँ म मामाघरमा जान्थेँ । त्यसबेला बाउले आमालाई गाली गर्न थाली हाल्थे- ‘तेरी छोरी, तेरो भाइकी स्वास्नी हो ? होइन भने किन गएकी त्यहाँ ? यसबेला त्यो तेरो भाइसँग सुतेकी होली । हेर्छेस् तँ ऊ कसरी सुतेकी होली ?’ यस्ता घटिया शब्दहरू मेरी आमाले कसरी सुन्न बाध्य हुन्थिन् भन्ने कुरा म सम्झन पनि चाहन्न । रातभरि बहिनी र आमा रोएर बस्थे रे म मामाघर गएको बेलामा । म आफ्नो मामाघरमा जाँदासमेत मेरा बाउले त्यस्तो सोच्न थालेपछि रात बास बस्ने गरेर म कतै पनि जान छोडेँ । त्यसपश्चात् बाउले मलाई स्कूल जानसमेत रोक्न थाले । मेरो स्कूल जाने बेलामा कहिले कापी-किताब लुकाइदिने त कहिले लुगा नै गायब पारिदिनेजस्ता हर्कतहरू गर्दथे । ‘किन त्यस्तो गरेको ?’ भन्दा ‘मैले किनिदिएको त हो नि’ भन्थे ।

बाउको यस्तो क्रियाकलापका कारण मैले धेरैपटक स्कूलमा गयल हुनुपर्‍यो । एक दिनको कुरा हो । बाउ र म पसलबाट घर फर्किदैथियौँ । बसमा स्कूलको सर भेटिनुभयो । मैले सरलाई नमस्ते गरेँ । बाउले मलाई बसका सबै मान्छेका सामु गाली गरे – ‘त्यो तेरो पोइ हो र बोलिस ?’ त्यो दिन सरलाई भेट्नु नै मेरो ठूलो दुर्भाग्य भयो । त्यसदिनदेखि मैले स्कूल जानै छोडिदिएँ । स्कूल छाडेपछि पसलमा बाउलाई काममा सघाउनु, घर आएर घरको काममा आमालाई सहयोग गर्नु मेरो काम हुन्थ्यो । र, म मरेर पनि बाँचिरहेकी थिएँ । सोचेर ल्याउँदा दिमाग फुट्लाजस्तो हुन्थ्यो । तथापि म मौनतापूर्वक आफ्नो मनमस्तिष्कमा उठेका ज्वारभाटाहरूलाई आँसुको दहमा डुबाएर बस्न विवश थिएँ । यसरी मैले बाउको अगाडि कोहीसँग बोल्नै नहुने, बोल्यो कि पोल्यो भैहाल्थ्यो । जब राति सुत्ने बेला हुन्थ्यो तब बाउ मसँग सुत्नलाई मरिहत्ते गर्थे । कस्तो निकृष्ट बाउ होलान् मेरा बाउ तपाईं आफैं कल्पना गर्नुहोस् । मलाई पलपल लागिरहन्छ- संसारमा यस्ता पनि बाउ हुन्छन र ?’

म सधैँ खाटमुनि सुत्थेँ । घरभित्रै, आफ्नै बाउबाट असुरक्षित मेरा निम्ति दिनहरू, रातहरू कति कठोर बनेका थिए म सम्झन पनि सक्दिनँ । मेरा बाउ मलाई आफ्नै बहिनीसँग बोल्न पनि दिँदैन थिए । छरछिमेकका केटीहरूसँग बोल्दा पनि नराम्रो सङ्गत नगर भनेर गाली गर्थे । बाउको मप्रतिको दुव्र्यवहार जारी नै थियो । यसबीचमा बाउलाई दुई पटक प्रहरीले जेलमा पुर्‍यायो, छोडिदियो पनि । हाम्रो मासु पसल थियो । बाउ पटकपटक जेल परेपछि घरमा पैसा दिन छाडे । घरखर्चको अभाव हुन थाल्यो । आमाले माइतीबाट पैसा ल्याई चामल किनेर हामीलाई खुवाउन थाल्नुभयो । त्यसो गर्दा पनि धर पाइएन । यसरी मामाघरबाट पैसा ल्याउँदा पशुजस्ता मेरा बा आमालाई गाली गर्थे- ‘एइ राँड ! कोसँग सुतेर पैसा ल्याइस् ?’ अनि उनी आमालाई कपालमा समातेर पछार्थे, पकाएको खानाको भाँडो नै फालिदिन्थे । हदै भएपछि आमाले बाउ भनाउँदो पशुसँग सम्बन्धविच्छेद गर्ने निर्णय गर्नुभयो ।

करिब चार वर्षअघिको कुरा हो । आमाको पत्थरीको अप्रेशन गर्नुपर्ने भयो । आमा अस्पतालमा, हामी घरमा सुरक्षित हुनसक्ने कुरै थिएन । आमाले हामीलाई छिँडीमा सुत्ने व्यवस्था मिलाइदिनुभएको थियो । मसँग सुत्न नपाएको झोंकमा बाउ खुब रिसाउँथे । अर्को एक दिनको कुरा, बहिनी र म खाना खाएर भाँडा माझीरहेका थियौा । बाउ टन्न रक्सी पिएर आए । हामी भाँडा माझीसकेर सुत्न जाँदा बाउ त छिँडीको कोठाको ढोका खोलेर हाम्रो ओछ्यानमा पो सुतिरहेका रहेछन् । हामीलाई आपत पर्‍यो । अब कहाँ सुत्ने ? बढो अप्ठेरो पर्‍यो हामीलाई । नजिकै ठूलोबुवाको घर थियो । बहिनी र म त्यहीँ सुत्न भनेर गयौँ । तर ठूलीआमाले ‘यहाँ नसुत, तिमेरको बाउ आएर झगडा गर्छ, बरु हजुरबाको घरमा गएर सुत’ भनेपछि हामी हजुरबाको घरमा गएर सुत्यौँ । हजुरबालाई हाम्रो बाउको सबै बानीव्यहोरा थाहा थियो । त्यसैले एउटा कोठामा हजुरबाले हामीलाई सुत्न दिनुभयो । हजुरबा बालाई ‘साले, कुकुर जन्मेछ’ भन्दै गाली गर्नुहुन्थ्यो ।

राति करिब १ बजेतिर बाउ बिउँझिएछन् । उनी उठेर हामीलाई खोज्दै हजुरबाको घरमा आए । हजुरबाले गाली गर्दा बाउले उल्टै हजुरबालाई नै कुट्न खोजे । ठूलो बुवाले गाली गरेपछि भने उनी भुतभुताउँदै फर्किए । बाउले घरमा पैसा दिन छोडेपछि बहिनीहरूको स्कूल फी तिर्ने पैसा पनि हुन छोड्यो । आमाको कमाइ थिएन । मेरो पढाइ पनि रोकिएको थियो । अब मैले कुनै काम खोजेर गर्ने विचार गरेँ । तब पोहोर असारदेखि मैले फुपूकी छोरीको सहयोगमा कोटेश्वरस्थित एक पसलमा काम गर्न थालें । महिनको ३ हजार तलबमा । साहुले दिनको २५ रुपियाँ खाजा खर्च दिन्थ्यो । मलाई लागेको थियो- त्यति कमाइ भएपछि बहिनीहरूको पढाइखर्च धान्छ ।

मेरो जागिरको पहिलो दिन । आमासँग २० रुपियाँ बसभाडा मागेर म काममा हिँड्ने तर्खरमा लाग्दैलाग्दा बाउले आमालाई सोधे- ‘त्यो कहाँ हिँडेकी ?’ ‘काममा जान लागेकी । तिमीले पैसा दिन छोड्यौ । अब छोरीले जागिर खानु परेन ?’ आमाले जवाफ दिनुभयो । बाउले रिसले चुर हुँदै भित्ताको ऐना फुटाइदिए । आमालाई गाली गर्दै लम्कीझम्की गर्न थाले । आज बाउले आमालाई कुट्ने नै भए भन्ने सोच्दै डरले काप्दै म काममा गएँ ।

बेलुकी कामबाट म घर फर्किएँ । बाउ घरमै रहेछन् । उनले अरु केही पनि नसोधी सिधै भने- ‘तेरो साहुले कति पैसा दियो तँलाई सुताएको ।’ बाबुको यस्तो तुच्छ बचन सुनेर उफ् मेरो टाउको फुट्लाजस्तो भयो । कामले थाकेकी मैले कुनै जवाफ फर्काइनँ । आमालाई झनक्क रिस उठेछ बाउसँग झगडा गर्नुभयो । झगडा बढ्दै गयो । आमाले भन्नुभयो- ‘तँलाई अब पुलिस बोलाएर जेलमा नपठाई छाड्दिनँ ।’ पुलिस पनि कति बोलाउने कति । पूर्णरुपले आपराधिक मनस्थितिमा पुगेको उनले भने- ‘बोला, पुलिस बोला । पुलिस बोलाइस् भने म भनिदिन्छु, हो मैले मेरी छोरीलाई सुताएको हो । अनि ठीक हुन्छ । पुलिसले छोरीको मैसँग बिहे गर्दिन्छ । अनि काइदा हुन्छ ।’

मुख थुनिदिने कुरा भएन क्यारे । उनको मुखबाट निस्किएका यस्ता शब्दहरू सुन्न पनि सकिन्थेन । त्यसपछि आजित भएर हामी घरबाट निस्कियौँ । रातको साढे दश बजेको थियो । बाहिरको वातावरण एक किसिमले सुनसान भइसकेको थियो । घरबाट हामी निस्किन त निस्कियौँ । तर राति हुँदो कहाँ जाने, कता जाने ? हामीलाई एउटा ठूलो अन्योलले पछ्याइरहेको थियो । दिमागमा झट्ट मामालाई फोन गर्ने विचार आयो । मामाको ट्याक्सी थियो । त्यस कारणले पनि हामीले मामालाई सम्झेका थियौँ । मामा हामीलाई लिन आउनुभयो । एक हप्ताजति हामी मामाघरमा बस्यौँ । म मामाघरबाटै कोटेश्वर अफिसमा जाने-आउने गर्न थालें ।

बाउले मलाई जताततै खोजेछन् । खोज्दाखोज्दै उनले मैले काम गर्ने ठाउँ पत्ता लगाएछन् । मैले काम गर्ने ठाउँको एक भाइलाई बाउले भेटेछन् र – मेरो बारे सोधेछन्- ‘त्यो केटीलाई दिनमा कति जनाले लैजान्छन् ? साहुले त्यसलाई कति दिन्छ सुतेको ?’ आदि-इत्यादि घटिया कुराहरू गरेछन् । म अफिसभित्रै बसिरहेँ । त्यो भाइले मलाई भन्यो- ‘दिदी तपाईं त्यो मान्छेलाई चिन्नुहुन्छ ?’ मैले भनेँ – ‘चिन्दिनँ’ । फेरि त्यहाँ गएर बेइज्जत गर्लान् भने मैले भोलिपल्टदेखि त्यहअँको जागिरै छोडिदिएँ । अहिले आमा, बहिनीहरू र म बाउलाई छोडेर टाढा बसेका छौँ, डेरा लिएर । जीविकोपार्जनका लागि मासुपसल गर्छौँ । बहिनीहरू पढ्दैछन् । तर यहाँ पनि बाउले पछ्याउन छोडेका छैनन् । बेला-बेला आएर टर्चर दिन्छन् । भगवान ! यो संसारमा मलाई किन यस्ता अपराधी बाउकी छोरी बनायौ ? म धिक्कारी रहन्छु आफ्नै जीवनलाई । मेरा आँखा आँसुले अनायासै भरिन्छन् ।

(यो कथा वास्तविक घटनाको आधारमा तयार पारिएको हो । तर पात्रको नाम भने परिवर्तन गरिएको छ ।)