नगर बधुहरुको आवाज

लाटाको देशमा गढा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसि रहेकोछ नारायणहिटी !

नयाँ नेपालको नयाँ संबिधान चाहि
के भएर आउने हो कुन्नी ?
सबै कुरा नाँपे,
सबै कुरा लेखे भन्लान्
नेताहरु…….!
ईस…….तिनीहरुको संबिधान !
खै कहाँ अटायौं हामी ?

नयाँ संबिधान लेख्न जनमत संकलन गर्न
हाम्रो कोठी सम्म,
किन आएनन् प्रचण्ड,
किन आएनन् गिरिजा,
किन आएनन् माधव नेपाल

बल्ल-तल्ल एक चिम्टी नुन जति
बैस साँचेर आएका मधेसी प्रतिनिधिलाई
नेल ठोकेर, जेलमा कोचारे
हामी भनि रहेछौं
कठैबरा-बिचरा
हामीलाई माया गर्ने एउटै मात्र सभासदज्यु
आई लभ यु !
तर अरुले भन्छन् बेसै भयो
अझै थोरै भयो सालेलाई

यो भन्दा पहिला
को वरिष्ठ को कनिष्ठ सबै आई रहेकै थिए
हामीले नयाँ नेपालको
नयाँ जिन्दगी चलाई रहेकै थियौं

एउटै थालमा खाएर,
एउटै ओछ्यानमा सुतेर
सानो कुरामा चित्त नबुझे पछि
रङ्गेहात पक्राउ,
हामीलाईनै नेल ठोकेर जेल चलान गरेर
पालेको चराले आँखा ठुग्ने
ईन्स्पेक्टर, डेस्पी र एस्पी सबै
मुर्दाबाद !

ईन्क्लाव-जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !
खोई हाम्रो बाँच्ने अधिकार ?
खोई हामीलाई अर्को रोजगार ?
हाम्रो स्वतन्त्र बाँच्ने अधिकारबाट
बन्चित गराउने सबै
मुर्दाबाद !

रेड लाईट एरिया घोषणा गर
हाम्रो घर परिवार को लागि हामी मरि सक्यौ ।
प्रतिष्ठित समाजको लागि हामी मरिसक्यौ ।।
तरै पनि
बेश्या बादिनी
जिन्दाबाद !
गणतान्त्रिक नयाँ नेपाल
जिन्दाबाद !

नोट:
संबिधान सभा सम्पन्न पश्चात् संबिधान लेख्नका लागि सभासदहरु गाउँ-गाउँमा जनमत संकलन गर्ने अभियानको आरम्भसँगै कोठीमा सभासद रङ्गेहात पक्राउ गरिएपछि लेखिएको कविता हो यो । दुई बर्षको निर्धारित समयमा पनि संबिधान निर्माण नभएपछि एक बर्ष थप भएको म्यादपनि कुर्सीको लुच्छाचुडीमै बित्न लागेकोले फेरी पनि नगरबधुहरुद्वारा अकर्मण्य नेताहरुलाई खवरदारी ।

-दयाकृष्ण राई