यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल ! हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा
र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट
बाहिर निस्केर
म उड्छु अब यो – नीलो आकाशमा !
तिमीहरुले
चामलको दानामा लेखेछौ
मेरो इतिहास !
सागको पातमा लेखेछौ
मेरा गीतहरु !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्रमन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लाउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
आँनै रगतको घुट्काले
भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्पराभित्र केही छैन- विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टक्टक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फिता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !
के थाहा तिमीहरुलाई –
मभित्र कसरी उम्लिरहेको छ खरानी ?
के थाहा तिमीहरुलाई –
म किन निदाउन सक्तिना रातभरि ?
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्बिरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई
खरानीबाट उठेर
क्षतविक्षत कङ्कालहरु
आफ्नो जीवनको मूल्य माग्दै
लखेट्छन् मलाई
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न हिंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
रिंगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गीदैछ जीवनको कम्पन !
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु-
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्न म
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्न म !!
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
-विप्लव ढकाल