रगतको आँखीझ्याल

रगतभित्र आँखीझ्याल छ
अथवा लाखौं वर्ष पहिले उद्भव भएको
रातो रगतको आयाम
भेँमकाय महासागरको भन्दा पनि फराकिलो छ
पुर्वजहरुको प्रत्येक पिंढीबाट
स्नेहपूर्वक हस्तान्तरित रगतको पिठ्यूमा
हामी सवार गरिरहेछौं
रगतको भरेङ्बाट कहिले हामी तल ओर्लेका छौं
कहिले माथि उक्लेका छौं

प्रत्येक मान्छेभित्र
सुसाउने रगतको पृष्ठभूमिमा
आलो सडक शहर खेतबारी र गाउँबस्तीहरु
एहिलेदेखि जीवन्त छन्
हामीसँग रगतद्वारा निर्मित
सडक र शहर छन्
हामीसँग रगतले पोतिएका
खेतबारी र गाउँबस्तीहरु छन्
हामीसँग रगतले लिपिएको
भयानक युद्धहरु छन्
जसलाई हामीले
रगतको आँखीझ्यालबाट देख्ने गरेका छौँ

हामीसाग दुराशपग्रस्त रगतका
कुलो र नहरहरु छन्
कुण्ठित हाम्रो मानसपटलमा
रक्तरञ्जित कर्कशध्वनीले
अज्ञात भविष्यको
निरङ्कुस कालोबादलभित्र
कात्रो ओढाउँदैछ
शून्यताभित्र पनि अर्को शून्यता
चोकमा उभिएको शालिकजस्तै
हामी एक अर्काप्रति मौनताको
विनिमय गरिरहेका छौं
विशृङ्खल यी अक्षम्य दृश्यहरु
रगतको आँखीझ्यालबाट
टुलुटुलु निलिरहेका छौँ ।

 

-मणि राई