९८ को आत्मकथा

बाबाको हत्या भएपछि
हाम्रो च्याब्जुले –
हत्यारालाई पनि ढाल्नुभएछ

रगतको आहालबीच उभिएर
मुन्धुम फलाक्दा-फलाक्दै
धनुसँगै दाहिने हात खसेछ
सिस्नुको फेटा
र लहराको जुत्ता खसेछ

ब्यूँझदा –
शरीरमा गर्जिरहेको छ घाइते बाघ
आगो भएको छ जङ्गल
धूवाँ भएको छ पर्वत
रगत भएको छ खोला
त्यसपछि –
हाम्रो च्याब्जुले
दगुरिरहेको हुरीसित बल माग्नुभएछ

यसरी हाम्रो च्याब्जुले
हतुवागढी छोड्नुभएको रे !
अरुण र तमोर नदीमा
उम्लिरहेको पानी टेकेर
यसरी हाम्रो च्याब्जु
पान्थरको मेमेङमा आइपुग्नुभएछ

बोहोरीको रूख
र केराको बोटमा
चोट पार्दै हिँड्दा
पुर्खाको सेहेँले बाटो छेकेछ
एकदिन अवश्यै फर्किनेछु भनी
बाचा गरेर
उहाँ त आफै बाटो हुनुभएछ

त्यसैले –
हरेक सूर्यास्तमा हाम्रो च्याब्जु
पश्चिम फर्किएर
मुन्धुम फलाक्नु हुन्थ्यो रे !
र बाँकी रहेको देब्रे हातले
आँसु पुछ्नुहुन्थ्यो रे !
नपुछिएको आँसु
च्याब्जुआमा नुनम् लिम्बुनीले पुछिदिन्थिन् रे !

मेमेङमाथिको मौन आकाश
गड्गडायो अचानक
बेस्सरी चल्यो हावा
झर्‍यो असिना
तल …
खेतको बियाड, बाँसझ्याङ, निगालोघारी
पट्मेरो र उत्तिसका रुखहरूले
बजाउन थाले च्याब्रुङ
देखिन् नुनम् लिम्बुनीले
पखेँटा भाँचिएको यौटा जूनकीरी
टिपिन् हत्केलामा
र साटिन् आफ्नो गोलो आँखासित

तानमा –
आधा बुनेको फक्ताङलुङ फुस्कियो
झरीको पालामसँगै –
नुनम् लिम्बुनीले
बुनिन् अर्को फक्ताङलुङ
यसरी हाम्रो च्याब्जु
फक्ताङलुङ भएछन्
म ९८
अर्थात् जाँचवीर राई
तिनैको सन्तान हुँ

मेरा बाजे राजवीर
नामुद सिकारी
मेरा बा भगिवीर
विश्व-युद्धको सिपाही

आफैले समातेको बनेलसित
लाप्पा खेल्दा-खेल्दै
बाजे राजवीरको गयो प्राण !

जापानसितको युद्धमा
आफ्नै अनुहारको शत्रुसित लड्नुपर्दा
झुक्किएर
बा घाइते हुनुभएछ
हजारौँ हजारको मृत्युबाट
उम्किएर
एक्लै घर आइपुगेका बा
दर्जनौँ अविवाहित सोल्टिनीहरूका
घेराबन्दीमा परेछन्
आफू सात-समुद्रपारि गएदेखि नै
रोगिएकी श्रीमतीले अब
पुगेन उनलाई
प्रत्येक मेला र डबलीहरूमा
तीनपाने र तोङ्वासँगै
वणिर्त युद्धकथा
नयाँ आमाहरूलाई प्रेमपत्र भयो
बाबाका लागि –
आमाहरू स्वयं प्रेमपत्र भए

मेरा बाका
छवटी श्रीमती
बाह्र भाइ छोरा
छ बहिनी छोरी

कान्छीआमा ल्याएको भोलिपल्टै
जेठीआमाको मृत्यु भयो !

माइली र साइँलीले
यहाँको देउरालीलाई
एक-एक थुङ्गा बाबरीफूल
र केही आँसु उपहार दिएर
काटे डाँडा

काइँली र अन्तरीले
स्याँहारे लेकको गोठ
र बेँसीको खोरिया
हुर्कियौँ हामी –
यही लेकबेँसी
नागी र खर्क गर्दै

मकैको बोट रहेछ हाम्रो जीवन
झेल्दै घाम-पानी, हुरी-बतास
हुर्कन्छ बिरुवा
फुल्छ, फल्छ संघर्षले
मर्छन् कति असमय
सहन नसकी पृथिवीको राप
तर बाँच्यौँ हामी
तीन भाइ, तीन बहिनी

भृकुटीझैँ ठूली दिदी
तरिन् तमोर
र पुगिन् ताप्लेजुङ

माली चराजस्ती माइली दिदीको
फेरियो घरको धुरी
आँगन, बगैँचा र बाटो
तर फेरिएन पँधेरी

कान्छी दिदी थिइन् बघिनी
हिंस्रक र विद्रोही
भोगिन् ०७ साल
यो लिम्बुवानबाट लेखेटिएको
आफ्नो अजात प्रेमीको
झुकेको शीर उठाउन
पसिन् जङ्गल
फाँडिन् झोडा
जुझनि् औलो
र अन्यायसित

जेठादाजु
राँके, युवा, त्रिशाली, मक्खवा
कुशे र चासोक तङ्नाम्का मेलाहरूमा
नचाउँदा-नचाउँदै खुकुरी
आफै नाचे प्रेममा
र काटे नौ डाँडा
टेक्दै सुख्खिम, भोटाङ
र कोइलाखाँद
पुगे मणिपुर आसाम

घरछेऊ उभिएको
अग्लो काभ्राको रुख हेर्दा-हेर्दै
रुखमै देखे –
माइलाले आफूलाई
फैलाए हाँगा र पात
फैलाए जरा
फुलाए यौवन आफ्नै भीरपाखामा

म कान्छो
जाँचवीर
थिएँ म अज्ञानी
काँचो माटो
बाँसको तामा
प्वाँख पलाइनसकेको चरा
अथवा –
एउटा सादा कागज
सन् १९५९ डिसेम्बर १ तारिख
मध्यान्ह
कसैले –
हेर्‍यो आँखा
छाम्यो नाक
सुन्यो कान
चलायो हातखुट्टा
मुसार्‍यो मगज
नाप्यो उचाइ
तौल्यो तौल
र लेख्यो छातीमा मोटो नम्बर
९८

पान्थर र पक्लिहवाको
पट्यारलाग्दो बाटोमा
खरितेले लगेको गाईवस्तुझैँ
हिँडेर
कलकत्ताको नीलो बन्दरगाह छेउ
भोकले छट्पटाइरहेको ह्वेलजस्तो
सिर्दाना जहाजको मुखमा
पस्यौँ हामी –
हिमाली गाईका बहरहरू
सात दिन सात रातपछि
जब उत्रियौँ
सङ्गापटानी पेनाङ मलाया
पहिलोपल्ट देख्यौँ सामुन्ने
महामानव मेजर हड्सन
गर्जिए उनी मेघझैँ
बर्साए अहंकार …
अहो ! हामी
भइसकेछौँ गधाको बच्चा
सन् अफ् बीच्
अर्थात् लाहुरे

हामीले पायौँ –
हरियो डाङ्ग्री
बन्दुक र काशन
पस्यौँ मलेसिया
र ब्रुनाइका घनाजङ्गल
खोज्दै आतङ्ककारी
डाकु, लुटेरा, कम्युनिष्ट
तर भेट्यौँ हामीले
केवल मानिस

गरिब
आदिवासी
मद्रासी, चाइनिज, इण्डोनेशियन
आजाहारी, हासिन्या फान्दी, लेप्टेन सुम्मी
निमोठ्यौँ हामीले –
तिनका राता सपनाहरूलाई

सन् १९६८ को एक बिहान
जब उचाल्यौँ हामीले चारकुने झण्डा
घाउको पीडा र जितको जोससँगै
आकाशमा थर्थराइरहेका हाम्रा हातहरूमाथि
मुस्कुराइरहेको थियो – खुनी बेलायत
असङ्ख्य नम्बरी गुमाएर
बिना कुनै उत्तेजना
छातीमा थापेर भिक्टोरिया क्रस
मूर्तिवत् उभिएको थियो – लिम्बू रामबहादुर
सायद उसलाई –
आएको थियो – कसैको तीव्र याद
अथवा –
लागेको थियो – भित्र कहीँ पश्चाताप !
तर म ९८
सम्झिरहेको थिएँ मेरो देश
र घरछेऊ उभिएको काभ्राको रुख

सन् १९७१
१२ वर्ष ६ महिना १९ दिनपछि
फर्किएँ म रामझैँ उदास
बिसाएँ चौतारीमा
पढेँ स्वर्गीय बाबाको किताप
हेरेँ बन्दी र विक्षिप्त घर
देखिनँ काभ्राको रुख
भेटिँदा अराष्ट्रियतत्व रुखमाइला

एउटा भीषण युद्धपछिको योद्धा
थकित श्रमिक
निहत्था
असहाय बालक
खोज्दै न्यानो काख
आइपुगेको थिएँ म
मेरो मेमेङ
खोज्न सकिनँ काभ्राको रुख
सोध्न सकिनँ रुखमाइलाको ठेगाना
उठाउन सकिनँ फेरि हतियार
सोच्न सकिनँ फेरि युद्ध

वरिपरि फुल्न थालेका राता फूलहरू
बाटो छेक्ने आँसु
खुट्टा समाउने माटो
र बेखबर आफन्तहरू
अलपत्रै छोडेर –
झरेँ म इलाम

घुम्ती र कुइनेटाहरुमा
च्याब्जुको सेहेँ मन्साएँदै
कुनै दिन अवश्यै फर्किनेछु भनी
बाचा गरेर –
भएँ म नयाँ फक्ताङलुङ

यो साखेजुङको फेदमा
म नयाँ मानिस
आफ्नै देशलाई खुवाएर घुस
लिएँ नयाँ नागरिकता
कोरेँ मैले नयाँ घरको नक्सा
एक लहर कलिला चियाका बिरुवासँगै
रोपेँ मैले लाहुरेफूल

बाँच्नुलाई चरा हुने रहेछौँ हामी
कर्‍याङकुरुङले झैँ कहाँ-कहाँ…
कावा खानुपर्ने
परेवाले झैँ अमर
प्रीति लाउनुपर्ने
गौँथलीले झैँ कसैको दलानमा
गुँड लाउनुपर्ने
बचेरा हुर्काउनुपर्ने
काशी जानुपर्ने
फर्किनुपर्ने
फेरि जानुपर्ने
निरन्तर-निरन्तर…

घरमाथिको आकाशमा
बालिराखेर आकाशबत्ती
फालिराखेर मुटुका केही टुक्रा
छरिराखेर कलेजाका केही चोइटा
टाँगिराखेर मायाको पतका
जोडिराखेर हृदयको टेलिफोन
फिजाइराखेर आशाको बिस्कुन
सन् १९९१ मा
उडेँ म फेरि हङकङ
बनाएँ गगनचुम्बी भवनहरू
सिँगारेँ त्यसका झ्याल-ढोका
म अरनिकोको सन्तान
चिनाएँ चिनियाँलाई तिनको सौन्दर्य
सम्याएँ चेप्लाकोक विमानस्थल
र उभिएँ स्वागतमा
१४ वर्ष
थाहा छैन कतिपल्ट बिसाए यहाँ
बेलायती, अमेरिकन, अरेबियन कामुक जहाजहरू
र गरेँ सम्भोग
कन्फ्युसियस, तुफु, माओ
र लुसुनका सपनासित
म ९८
अर्थात् जाँचवीर राई
मात्र हेरिरहेँ एकनास
डीब वाटरमा तैरिरहेको रक्तमिश्रति वीर्य
समुद्रको नुनिलो पानी हेर्दा-हेर्दै
एकदिन अनायास
हेरेँ मैले आफूलाई
छामेँ अनुहार
निचोरेँ निधारको सुली र खरानी
चढेँ ताइमसन डाँडा
उचालेँ स्मृतिको आँखीभौं
र खोजेँ कञ्चनजङ्घा
सम्झेँ मैले –
मेरो देश
मेरो गाएँ
मेरो घर

दुईपलको जिन्दगी बाँच्न
लोग्नेको इमानको पसिना
चन्दा दिँदा-दिँदा
आफ्नै आसुँले निथु्रकै भिजेकी श्रीमती
कथित कुनै क्रान्तिकारीसित
अनुहार मिलेर
अनाहकमै –
सहादत प्राप्त गरेको छोरा
र सातो हराएकी बुहारी
माइतीघर नपुग्दै –
एम्बुसमा परी घाइते भएकी छोरी
र चरेसको व्यापारमा संलग्न ज्वाइँ
बन्दुकको खेलौना खेलाइरहेका
नाति-नातिना
र संवादहीन इष्टमित्र, छरछिमेकी

पसेँ म –
इतिहासको बाक्लो कुहिरोभित्र
भेटेँ मैले –
प्रतिघातले पलायन भएको
क्षतविक्षत बलभद्र
तोपको मोहोरीमा तरवारले –
आफ्नै अज्ञानता काटिरहेको
बूढो भक्ति थापा
झ्यालखानाभित्र –
साइलकजस्तो देशलाई
रगत चुसाइरहेको
निस्लोट भीमसेन थापा
रामप्रसाद राई
र रत्नकुमार बान्तवा

बाफिएँ म यो बन्दरगाहमा
केएफ्सी र म्याक्डोनल्स्को गन्धले
र फर्किएँ म –
सन् २००५ को कुनै भावुक दिन
आफ्नो इतिहास, रगत
र पसिनाको मूल्य खोज्न
लामबद्ध भएँ महासमरमा
व्यहोरेँ ०६२/६३

अफ्सोच !
युगौँदेखि –
मेरो रगत र पसिना बेचेर
छाक टारिरहेको मेरो देश
बोलेन
युगौँदेखि –
मेरो रगत र पसिनाको
सुट लगाइरहेको बेलायत
बोलेन
मेरो रगतको अंशियार
मेरै दाजुभाइ
र इष्टमित्रहरू बोलेनन्
म एक्लै
उभिएँ फेरि चिसो सडकबीच
उभिएँ एक्लै
अदालतको कठघरामा
पछारेँ अन्याय, शोषण
र छलकपटका दर्जनौँ प्रमाण
पहिलोपल्ट जितेँ मैले –
आफ्नो लागि आफै लडेको युद्ध

आज मिति २०६७ साल
वैशाख ११ गते शनिबार
लोकतन्त्र दिवस
यतिखेर
यो ७२ वर्षको उमेरमा
सम्झिरहेको छैन मैले
महान् जनआन्दोलन
हजारौँ हजार सहिद
घाइते, विधवा
र टुहुरा-टुहुरी

केवल सम्झिरहेको छु म –
सुगौली सन्धि
र जङ्गबहादुरको खसीबजार
सम्झिरहेको छु म –
यो देशको प्रत्येक बन्द ढोका
बेरोजगार, अवसरहीन छोरा-छोरी
र तिनको अनिश्चित भविष्य
र सम्झिरहेको छु म –
भोलिको दर्के पानी वा चर्को घाम
दुतावासको साँघुरो झ्याल
लाग्नुपर्ने दोस्रो नागरिकको भिसा
र मजस्तै –
मेरा नम्बरीहरूको लाम
सम्झिरहेको छु म –
हरियो पाउण्ड किन्न भर्खरै बेचेको घरखेत
र आँगनसँगै बेचिएको लाहुरेफूल
सम्झिरहेको छु म –
पर्खिबसेका लण्डनका ती सडक
कारखाना, अस्पताल, पुराना भवन, रेष्टुराँ
र भुइँ पुछ्ने लुगा

बाबाको मृत्यु भएपछि
मृत्युलाई जित्न
कुनै दिन अवश्यै फर्किनेछु भनी
बाचा गरेर –
बाटो छेक्ने पुर्खाको सेहें मन्साएँदै
दगुरिरहेको हुरीसित बल मागेर
म ९८
अर्थात् जाँचवीर राई
यसरी –
आइपुगेको छु काठमान्डू
शरीरभित्र गर्जिरहेको छ घाइते बाघ…।

-श्रवण मुकारुङ