हार्दिक आभार

आदरणीय बेलायतमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण भोजपुर जिल्लाबासी महानुभाबहरुमा हार्दिक अभिबादन !

भोजपुर सेवा समाजको संस्थापक तथा बर्तमान अध्यक्षको हैसियतले यहाँहरु समक्ष यस समाजको बिषय र गतिविधिको संक्षिप्त जानकारी गराउन चाहन्छु। भोजपुर सेवा समाजको स्थापना सन् १६ अगस्ट २००८ शनिबार आशफोर्ड, केन्ट, बेलायतमा भएको थियो, अहिले ६ बर्ष पूरा गरी ७ बर्षमा प्रवेश गरेको छ। यो संस्थाको प्रमुख उद्देश्य भनेको बेलायत प्रबासी भोजपुरेहरुलाई एउटै छाना मुनि गोलबन्द गरि भाइचाराको सम्बन्धलाई मजबुत गराई भैपरी आउने परिस्थितिको निवारण गर्नु हो ।

हामीलाई थाहा छ भोजपुर सेवा समाज राजनीतिक संस्था नभएर बिशुद्ध सामाजिक संस्था हो । यसलाई बैधानिक तरिकाले सबैको हित र कल्याणको निम्ति संचालन गर्नुपर्दछ । यसका लागि केहि प्रयास भने नभएका होइनन् तर पूर्णता पाउन भने सकिरहेको छैन । त्यसकारण यस समाजलाइ पूर्ण रुपले संचालन गर्ने जिम्मा बर्तमान कार्य समितिको काँधमा आएको मैले महसुस गरेको छु । त्यसैगरी गृह जिल्ला र यो संस्थाको सम्बन्ध गाढा बनाउन केहि सामाजिक कल्याणकारी कार्य नगरी भएको छैन र गरिनु पर्दछ ।

ब्यस्त बेलायती जीवनमा सामाजिक कार्य गर्ने कठिनाई र चुनौती धेरै नै छन् । समय अभाव र मिलनको चुनौती सबैभन्दा ठुलो भएको छ । कार्य समितिको बैधानिक बैठक र साधारण सभा गर्ने बैधानिक व्यवस्थाको पालना गर्नु पनि कम संघर्ष नभएको हैन । त्यसका बावजुद पनि यस समाजका पूर्व अध्यक्ष श्री हर्कराज राई एम.भी.ओ. ज्युको नेत्तृत्वको कार्य समिति (२००८-२०१२) ले यस समाजको जगलाई मजबुत बनाउन सफल भयो । त्यसैगरी श्री फुर्बा शेर्पा ज्यूको नेत्तृत्वको कार्य समिति (२०१२-२०१४) ले यो समाजलाई अझ उचाइमा पुर्‍याउन सफल भएको कुरा यहाँहरुलाई अवगत नै छ । मैले यस समितिमा सचिवको जिम्मेबारी निर्वाह गरेको थिएं ।

यस समाजको तेस्रो अधिवेशन २०१४ बाट मैले यस संस्थाको नेत्तृत्व गर्ने जिम्मेवारी पाएको छु । यस अवधिमा नैतिक र भौतिक रूपमा पूर्णता दिई एउटा सबल संस्था निर्माण गरी अर्को पुस्तालाई नेत्तृत्व हस्तान्तरण गर्नु नै हाम्रो उद्देश्य हो । त्यसैगरी गृह जिल्लामा गरिने धार्मिक तथा सामाजिक परियोजनाहरुलाई एकैसाथ अगाडि बढाउने लक्ष पनि यो समितिको रहेको छ, यसमा केहि कार्यहरु अगाडि बढाई सकेको पनि छ । यस उद्देश्यमा कहीं कतैबाट कमि कमजोरी हुन नदिने प्रण म यहाँहरु समक्ष गर्दछु ।

यस समाजको नवनिर्वाचित अध्यक्षको हैसियतले म यो समाजलाई अझ बलियो र गौरवमय बनाएर लैजान सबै बेलायत प्रवासी भोजपुरेहरुलाई एकजुट भै आगामी कार्य योजनाहरुमा यहाँहरुको अमुल्य सहयोग पाउने नै छु भन्ने आशा लिएको छु । त्यसैगरी यस समाजको अधिवेशन (२०१४) मा बिशेष सहयोग गर्नुहुने महानुभावहरु निर्वाचन मण्डलका अध्यक्ष (रिटायर्ड गोर्खा मेजर) श्री मान ब. राई, सदस्यहरु (रिटायर्ड गोर्खा मेजर) श्री हर्कराज रार्इ र श्री हेपेन्द्र राई (अप्जसे कान्छा), कार्यक्रम संचालकहरु मनोरञ्जनमा श्री बिरचंद्र राई र श्री मदन कुमार राई, पेय पदार्थमा श्री रुद्र श्रॆष्ठ र श्री मान ब. राई, खानामा श्री राजेन्द्र राई (क), टिकटमा श्रीमती चंद्रबती राई, पाहुना हेरबिचारमा श्रीमती निलम राई र श्री भानुभक्त राई, स्वागतमा श्री सुभ कुमार राई, सदस्यता दर्तामा सुबर्ण ताम्राकार, सुरक्षामा श्री श्याम श्रॆष्ठ र समग्रमा श्री देबेन्द्र कुमार राई र अन्य सम्पूर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । त्यसैगरी निबर्तमान कार्य समितिलाई पनि बिशेष धन्यबाद दिन चाहन्छु ।

अन्त्यमा,
भोजपुर सेवा समाज हामी सम्पूर्ण भोजपुरे प्रवासीहरुको साझा संस्था हो । यसलाई जीवन्तता दिन र यसको उन्नति प्रगतिको लागि आ-आफ्नो क्षेत्र, बुद्धि ,बिवेक र बर्कतले भ्याए सम्म सहयोग गरी दिनुहुन सम्पूर्ण बेलायत प्रवासी भोजपुरेहरुमा विनम्रता पूर्वक अनुरोध गर्दछु ।
दिलमान खिम्दुंङ् राई
अध्यक्ष
भोजपुर सेवा समाज बेलायत